काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा १२४ खर्बभन्दा बढी तरलता प्रशोचन गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार पाँच महिनामा १२४ खर्ब ४४ अर्ब ३० करोड तरलता प्रशोचन गरिएको हो ।
निक्षेप संकलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत ११३ खर्ब ३२ अर्ब ४५ करोड गरी १२४ खर्ब ४४ अर्ब ३० करोड तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायतका उपकरणमार्फत ३८६ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमा वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुई अर्ब २३ करोड खरिद गरी दुई खर्ब ९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको छ ।
त्यस्तै यो अवधिमा अमेरिकी डलर एक अर्ब ६४ करोड बिक्री गरी दुई खर्ब २१ अर्ब एक करोडबराबरको भारतीय रूपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूको ६ खर्ब आठ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ७८ अर्ब ८१ करोड गरी ६ खर्ब ८७ अर्ब ३६ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
बैंक वित्तीय संस्थाहरूको निक्षेप परिचालन र कर्जा प्रवाह भने सुस्त देखिएको छ । पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ७२ अर्ब ३२ करोड अर्थात् २.७ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ७८ अर्ब २९ करोड अर्थात् साढे तीन प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा कर्जा एक खर्ब १० अर्ब १ करोडले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा भने मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ ।
मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत छ । गत आवको वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थियो ।
यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.६, विकास बैंकहरूको २.७ र वित्त कम्पनीहरूको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ ।
मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३.५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६६.१ प्रतिशत छ ।
पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४, निर्माण क्षेत्रतर्फको कर्जा ३.५ र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले बढेको छ ।
त्यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.६, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ र उपभोग्य क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने ०.७ प्रतिशतले घटेको छ ।