• Menu

मुद्रास्फीति ६ प्रतिशतमाथि, खाद्य वस्तुको मूल्यवृद्धि उच्च

नेपाल प्रफिट

२०८१ पुस २७, शनिबार १९:५६

मुद्रास्फीति ६ प्रतिशतमाथि, खाद्य वस्तुको मूल्यवृद्धि उच्च

काठमाडौँ । चालु आर्थिक वर्षको पाँचौँ महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको हो ।

गत आर्थि वर्षको मंसिरमा मुद्रास्फीति ४.९५ प्रतिशत थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । गत वर्ष यी समूहको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४.९२ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घिउ तथा तेलको ९.३९ प्रतिशतले वृद्धि भएको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले वृद्धि भएको छ ।

मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६, मधेस प्रदेशको ६.७७, बागमती प्रदेशको ५.८४, गण्डकी प्रदेशको ४.८१, लुम्बिनी प्रदेशको ५.५३, कर्णाली प्रदेशको ४.१९ र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत छ ।

यस अवधिमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२, तराईको ६.३१, पहाडको ५.६५ र हिमालको ६.५८ प्रतिशत छ । मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको मंसिरमा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत थियो । यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्