• Menu

स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना प्रारम्भिक सूचीमा

नेपाल प्रफिट

२०८१ पुस २२, १४:०५

स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना प्रारम्भिक सूचीमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’का लागि आवेदन दिएका पाँच हजार १५८ परियोजनामध्ये एक हजार ३१४ प्रारम्भिक सूचीमा परेका छन् ।

२०८१ भदौ ११ देखि ३१ सम्म माग गरिएका आवेदन मध्येबाट एक हजार ३१४ आवदेन प्रारम्भिक सूचीमा परेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको हो ।

प्रारम्भिक सूचीमा परेका परियोजना प्रस्तावकहरु पुस २८ देखि प्रस्तुतीकरणमा सहभागी हुनुपर्नेछ । प्रस्तावकहरुका लागि पुस २८ देखि चैत ११ सम्म प्रस्तुतीकरणका लागि मिति तोकिएको छ ।

प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले ३ प्रतिशत ब्याजदरमा बिनाधितो स्टार्टअप उद्यम कर्जा पाउनेछन् । चालु आर्थिक वर्ष २०८१/८२ मा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच राखिएको छ भन्नेबारे स्पष्ट पार्नुपर्ने प्रतिष्ठानले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा सहभागिताका लागि उत्प्रेरित गर्न स्टार्टअप कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

परियोजना स्वीकृत भए प्रस्तावको न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म सुहलियत ब्याजदरको कर्जा पाउनेछन् । कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ भने कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजको रकम फिर्ता गर्न थाल्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

स्टार्टअप उद्यम कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक र कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्