काठमाडौँ । सन् २०२४ मा विश्वका १०० भन्दा बढी देशमा चुनाव भयो । चुनाव भएका देशमा विश्वको कुल जनसंख्याको करिब आधा व्यक्ति बसोबास गर्छन् । विश्वका सबैभन्दा बढी जनसंख्या भएका १० मध्ये सातवटा मुलुकमा चुनाव सम्पन्न भयो ।
ठूलो जनसंख्या भएका ब्राजिल, भारत, अमेरिका, पाकिस्तान, मेक्सिको, इन्डोनेसिया, फ्रान्स, बेलायत, दक्षिण अफ्रिका र रुसमा चुनाव भयो । साथै, युरोपेली संसदका लागि जुन महिनामा चुनाव भयो ।
नेसनल डेमोक्रेटिक इन्स्टिच्युटका अनुसार यी चुनावमा लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमध्ये ८० प्रतिशत मुलुकको चुनावमा सत्तारूढ दल पराजित भए ।
विश्व राजनीतिमा प्रभावशाली मानिएका दुई ठूला प्रजातान्त्रिक मुलुक भारत र अमेरिकामध्ये भारतको नतिजा अप्रत्यासित नभए पनि अमेरिकी चुनावी परिणामले धेरैलाई आश्चर्यचकित बनायो ।
अमेरिकाको ४७औं राष्ट्रपतिका लागि नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भए । उनले राष्ट्रपतिका लागि ५३८ इलेक्टोरल कलेज भोटमध्ये ३१२ मत पाए ।
डेमोक्रेटिक पार्टीका प्रभावशाली उम्मेदवार कमला ह्यारिसले यसपटक अमेरिकी सर्वोच्च पद राष्ट्रपतिमा विजयी हुने आंकलन थियो । तर, स्विङ स्टेट भनिने राज्यमै ह्यारिसले नराम्रो पराजय भोगिन् । ट्रम्पको दल रिपब्लिकन पार्टीले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा समेत झिनो भए पनि बहुमत हासिल गरेको छ ।
ट्रम्पको विजयसँगै अमेरिकी दुबै सदनमा रिपब्लिकन पार्टीको विजयले ट्रम्पका केही एजेन्डालाई लिएर विश्वव्यापी चासो र चिन्ता व्यक्त हुँदै आएको छ । खासगरी ट्रम्पका आप्रवासन, सीमा सुरक्षा र विश्वमा हाल चलिरहेका गाजा, युक्रेन र सिरिया द्वन्द्व जस्ता विषयमा के हुने भन्ने अन्योल छ ।
क्यानाडा, युरोपेली मुलुकहरू र चीनसँगको व्यापार द्वन्द्व पनि संघारमै छ । ‘अमेरिका प्रथम’को नारालाई सार्थक बनाउन अवरोध गर्ने जुनसुकै मुलुकमाथि करको डन्डा चलाउने ट्रम्पको योजनालाई लिएर विश्वव्यापी विरोध भइरहेकै छ ।
दक्षिण एसियामा चुनावी नतिजा
नेपालको निकट छिमेकी मुलुक भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) कै नेतृत्वमा केन्द्रमा सरकार बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भाजपाले एकल प्रचण्ड बहुमतसहितको नतिजा ल्याउन नसके पनि संसदमा सबैभन्दा ठूलो दलको हैसियतले सरकार बनाएको छ ।
५४३ सदस्यीय लोकसभामा २४० स्थान जितेको भाजपाले गठबन्धनका दलहरूको समर्थनमा सरकार बनाएको छ । भारतलाई स्थिरता दिने गरी प्रधानमन्त्री मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएका छन् ।
यस चुनावी नतिजाबाट छिमेकी मुलुकहरू उत्साहित बनेका छन् । खासगरी भारतले अघि सारेको नेभरहुड फर्स्ट नीतिबमोजिम भारतले व्यवहार गरेको भनिए पनि छिमेकी मुलुकले त्यसबमोजिम लाभ प्राप्त गर्न भने सकेका छैनन् ।
तैपनि, चीन र भारतबीच गलवान क्षेत्रको तनावलाई मत्थर बनाएर दुबै देशबीच सम्बन्ध सामान्यीकरणको प्रयास भने जारी रहेका खबर आइरहेका छन् । चाँडै दुबै देशका उच्च नेतृत्वले एकअर्काका मुलुकको भ्रमण गर्ने तयारी भइरहेको समाचार छ ।
दक्षिण एसियाली मुलुक पाकिस्तानमा पनि यसै वर्षको फेब्रुअरी ८ मा संसदका लागि चुनाव भयो । पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमा राखेर र उनको दल पाकिस्तान तेहरिक–ए इन्साफ (पीटीआई) लाई चुनावी प्रतिस्पर्धा गर्नबाटै वञ्चित गराएर भएको आमनिर्वाचनबाट पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (नवाज) सबैभन्दा ठूलो दल बन्न सफल भयो तर बहुमत आएन ।
नवाजले बेनजिर भुट्टोका छोरा बिलाबल भुट्टोको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीको समर्थनमा सरकार बनाएको छ । यस चुनावमा अनेक चुनौतीका बीच इमरान खानको पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरुले संसदमा दोस्रो स्थान ओगटेका छन् । मार्च ९ मा सम्पन्न राष्ट्रपतिको चुनावमा पाकिस्तान पिपुल्स पार्टीको समर्थनमा उठेका आशिफ अलि जर्दारी राष्ट्रपति चुनिएका छन् ।
दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपति र संसदको चुनाव यसै वर्ष सम्पन्न भयो । गत वर्ष जनविद्रोहबाट महिन्दा राजपाक्षको सरकार पतन भएसँगै रनिल विक्रमासिंघेले अन्तरिम सरकारको नेतृत्व गरी चुनाव सम्पन्न गराए ।
सन् २०२४ सेप्टेम्बर २१ मा सम्पन्न यस चुनावबाट श्रीलंकाको जनथा विमुक्थी पेरामुना (जेभीपी) पार्टी समर्थित वामपन्थी नेता अनुरा कुमारा दिस्सानायके राष्ट्रपतिमा विजयी भए । साथै, २०२४ नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा पनि उनकै घटक दल (नेसनल पिपुल्स पावर) ले बहुमत हासिल गरेको छ ।
कोभिडपछि अस्तव्यस्त बनेको श्रीलंकाली अर्थतन्त्र उकास्न, राजनीतिक तहमा रहेको नातावाद र भ्रष्टाचार रोक्न तथा देशको जर्जर अर्थव्यवस्थामा सुधार ल्याउन नयाँ सरकार सफल हुने अपेक्षासाथ श्रीलंकाली जनताले अपार समर्थन र विश्वास गरेका छन् ।
चीनका कारण भारत र श्रीलंकाबीचको सम्बन्धमा दरार उत्पन्न भएको भन्दै आलोचना भइरहेको समयमा श्रीलंकाली नवनिर्वाचित राष्ट्रपति दिस्सानायकेले भारतको भ्रमण गरी सम्बन्ध सामान्यीकरण गर्ने प्रयास थालेका छन् ।
माल्दिभ्समा पनि यसै वर्ष २०२४ अप्रिल २१ मा संसदको चुनाव भयो । यी चुनावमा राष्ट्रपति मोहम्मद मोइज्जुको दल पिपुल्स नेसनल कंग्रेस (पीएनसी) ले बहुमत हासिल गरेको छ । यसबीच छिमेकी मुलुक भारतसँगको तिक्ततापूर्ण सम्बन्धमा सुधार ल्याउन मोइज्जुले भारतको पटक–पटक भ्रमण गरेका छन् ।
बंगलादेशमा जनवरी ७ मा सम्पन्न आमनिर्वाचन भने विवादको घेरामा पर्यो । प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले बहिष्कार गरेको चुनावमा शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिगले प्रचण्ड बहुमत हासिल गर्यो ।
शेख हसिना पुन: प्रधानमन्त्रीमा चुनिए पनि जनताले विद्रोह गरेपछि देश छाडेर हाल भारतमा आश्रय लिइरहेकी छन् । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अहिले नयाँ अन्तरिम सरकार बनेको छ । यही सरकारले सम्भवतः यसै वर्ष चुनाव गर्दैछ ।
भुटानमा पनि यसै वर्ष जनवरी ९ मा ४७ सदस्यीय नेसनल एसेम्ब्लीका लागि निर्वाचन भयो । चुनावमा पिपुल्स डेमोक्रेटिक पार्टीले २४ स्थानमा विजयी हुँदै सरकार बनाएको छ । चुनावपछि छिरिङ तोग्बे प्रधानमन्त्री बनेका छन् ।
दक्षिण अमेरिका र अफ्रिका
संयुक्त राज्य अमेरिकाको छिमेकी मुलुक मेक्सिकोमा पनि यसै वर्ष राष्ट्रपति र संसदको दुबै सदनका लागि २०२४ जुन २ मा चुनाव भयो । चुनावमा तत्कालीन राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरकै दल समर्थित उम्मेदवार क्याउडिया सेनबम इतिहासमै सर्वाधिक मत ल्याएर विजयी भइन् । उनी मेक्सिकोको इतिहासमै पहिलो महिला राष्ट्रपति हुन् ।
मध्य एवं दक्षिण अमेरिकी मुलुकहरु उरुग्वे र भेनेजुएलामा पनि चुनाव सम्पन्न भयो तर भेनेजुएलाको निर्वाचन विवादास्पद थियो । भेनेजुएलामा जुलाई २८ मा भएको निर्वाचनबाट ६ वर्षे कार्यकालका लागि निकोलस मदुरो पुन: राष्ट्रपतिमा विजयी भए ।
अन्तर्राष्ट्रिय चुनावी पर्यवेक्षकहरुले यो चुनाव स्वतन्त्र र निष्पक्ष नभएको बताएका छन् । चुनावमा पराजित भएको भनिएका विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजले भेनेजुएला छाडेर स्पेनमा शरण लिएका छन् ।
नेल्सन मन्डेलाको देश दक्षिण अफ्रिकामा मे २९ मा नेसनल एसेम्ब्लीका लागि आमनिर्वाचन भयो । सन् १९९४ यता सातौँपटक भएको यस चुनावमा मन्डेलाले स्थापना गरेको अफ्रिकन नेसनल कंग्रेस (एएनसी) लाई ठूलो झड्का लागेको छ ।
पार्टीभित्रको तीव्र विवादका बीच संसदमा सबैभन्दा ठूलो पार्टी हुन एएनसीले सफलता हासिल गरे पनि बहुमत गुमाएको छ । एएनसीकै पूर्वनेता एवं पूर्वराष्ट्रपति ज्याकोब जुमाले एएनसीलाई कडा टक्कर दिए । साना तीन पार्टीको समर्थनमा एएनसीका नेता सिरिल रामाफोसा पुन: राष्ट्रपतिमा निर्वाचित भएर नयाँ गठबन्धन सरकार निर्माण भएको छ ।
अफ्रिकी मुलुकहरु घाना, चाड, मोजाम्बिक, नामिबिया, रुवान्डा, सेनेगल, टोगो, ट्युनिसिया, अल्जेरिया, बोत्सवाना, मौरिटानिया, मौरिसससहितका मुलुकमा पनि राष्ट्रपति वा संसदका लागि चुनाव सम्पन्न भएका छन् ।
एसियाली मुलुकहरूमा चुनाव
एसियाली मुलुकमध्ये सन् २०२४ को जलवायु सम्मेलन (कोप २९) आयोजना गरेको अजरबैजानमा फेब्रुअरी ७ मा सम्पन्न निर्वाचनमा इल्हाम अलियेभ ९२ प्रतिशत मत पाएर पाँचौं पटक राष्ट्रपतिमा निर्वाचित भए । उनी सन् २००३ देखि निरन्तर अजरबैजानको राष्ट्रपति छन् । यसै मुलुकमा सेप्टेम्बर १ मा संसदको पनि चुनाव भएको थियो र अलियेभकै न्यु अजरबैजान पार्टीले बहुमत हासिल गरेको छ ।
बीस करोडभन्दा बढी जनसंख्या रहेको इन्डोनेसियामा यसै वर्षको फेब्रुअरी १४ मा राष्ट्रपति, उपराष्ट्रपति र संसदका लागि निर्वाचन भयो । चुनावबाट पूर्व सेनाप्रमुख एवं रक्षामन्त्री प्रबोओ सुबिआन्तो राष्ट्रपतिमा निर्वाचित भए तर उनको दल भने संसदमा तेस्रो स्थानमा रह्यो ।
अर्को एसियाली मुलुक इरानमा पनि जुलाई ५ मा राष्ट्रपतिका लागि निर्वाचन भयो । इरानी राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि नयाँ राष्ट्रपतिका लागि निर्वाचन हो । चुनावबाट स्वतन्त्र एवं सुधारवादी उम्मेदवार मसुद पेजेस्कियान निर्वाचित भए ।
गाजा युद्ध, लेबनानमाथि इजरायली हमला, सिरियामा विद्रोहीको सत्तारोहण तथा इजरायल र इरानबीच एकअर्का मुलुक लक्षित क्षेप्यास्त्र प्रहारजस्ता भूराजनीतिक घटनाले इरानी नयाँ सरकारमाथि चौतर्फी दबाब छ ।
जापानमा पनि अक्टोबर २७ मा संसदका लागि चुनाव भयो । भ्रष्टाचार काण्डहरुबाट गुज्रेको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले चुनावमा निकै ठूलो हार व्यहोर्नुपर्यो । तथापि, संसदमा सबैभन्दा ठूलो दल बनेको एलडीपीले साना दलसँग मिलेर सरकार बनाएको छ ।
युरोपेली मुलुकमा चुनाव
युरोपेली मुलुकहरु अस्ट्रिया, बेलारुस, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, फिनल्यान्ड, जर्जिया, हंगेरी, आइसल्यान्ड, लिथुआनिया, मोल्दोभा, स्लोभाकिया र बेलायतमा राष्ट्रपति वा संसदका लागि चुनाव भए । यी चुनावमा खासगरी आप्रवासन, आर्थिक तथा युक्रेन मामिलालाई लिएर जनमत बाँडिएको छ ।
अर्को विवादास्पद चुनाव रुसको राष्ट्रपतिका लागि मार्चमा भएको थियो । यहाँ राष्ट्रपति भ्लादिमिर पुटिन पुन: उम्मेदवार बनेका थिए र ८८ प्रतिशतभन्दा बढी मतसहित पाँचौं कार्यकालका लागि विजयी भए ।
खासगरी उनका प्रखर विरोधी अलेक्सी नाभाल्नीको विवादास्पद रुपमा फेब्रुअरीमा जेलभित्रै निधन भएपछि त पुटिनका लागि चुनाव अझ सहज ठानिएको थियो । युक्रेन युद्धमा तीन वर्षदेखि होमिएको रुसमा नाभाल्नीलाई राष्ट्रपतिको उम्मेदवार हुनसमेत वञ्चित गरिएको थियो ।
फ्रान्सको ५७७ सदस्यीय नेसनल एसेम्ब्लीका लागि जुन ३० र जुलाई ७ मा गरी दुई चरणमा आम निर्वाचन भयो । चुनावमा राष्ट्रपति इमानुएल म्याँक्रोको दललाई ठूलो झड्का लाग्यो, जसका कारण फ्रान्सेली सरकार अस्थिरताको भूमरीमा परेको छ ।
बेलायतमा भने जुलाई ४ मा भएको निर्वाचनले उलटफेर नतिजा ल्यायो । कन्जरभेटिभ्स पार्टीका नेता एवं प्रधानमन्त्री ऋषि सुनकको दलले नराम्रो पराजय व्यहोर्यो । ६५० सदस्यीय हाउस अफ कमन्सका लागि भएको चुनावमा विपक्षी लेबर पार्टीले ४११ स्थान जितेर सरकार बनायो । अघिल्लो चुनावमा ३६५ स्थान जितेको ऋषि सुनकको दलले यस चुनावमा १२१ स्थानमात्र जित्न सक्यो ।
विश्वभर हाल भइरहेका चुनावी प्रक्रियाहरूले लोकतान्त्रिक विधिलाई थप सबल बनाउन भूमिका खेलेको देखिए पनि कतिपय चुनावी परिणामलाई आम जनता र स्वतन्त्र चुनावी पर्यवेक्षणले शंकाको घेरामा राखेका छन् ।
स्वतन्त्र, भयरहित र निष्पक्ष चुनावमार्फत समावेशी नेतृत्व चयन गर्न सके सबै वर्ग, लिंग, क्षेत्र र समुदायको उत्थान र अपनत्व विकास हुने उनीहरुले बताएका छन् ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal