काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि वाणिज्य बैंकहरुबाट निकै सस्तो ब्याजदरमा कर्जा पाइन थालेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ७ खर्ब रुपैयाँ नाघेपछि वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका हुन् ।
पुसका लागि एनआईसी एसियाबाहेक सबै वाणिज्य बैंकको आधार दर ८ प्रतिशतभन्दा तल छ । एनआईसी एसिया बैंकको आधार दर भने ८.०४ प्रतिशत छ । सबैभन्दा कम आधार दर भने ५.३८ प्रतिशत स्ट्यान्डर्ड बैंकको छ ।
पुसका लागि वाणिज्य बैंकहरुको औसत आधार दर ७.०४ प्रतिशत छ । २०८० असारसम्म बैंकहरुको आधार दर १०.०७ प्रतिशत थियो भने २०८१ वैशाखमा ८.८५ प्रतिशतमा झरेको थियो । बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ । अझ प्राथमिकताप्राप्त क्षेत्रमा २ प्रतशतभन्दा बढी प्रिमियम लिन पाइँदैन ।
कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.०२ प्रतिशतमात्र थियो । तर, कर्जाको माग भएन । अहिले पनि कर्जाको माग अत्यन्तै सुस्त छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा डेढ खर्ब हाराहारीमात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । पैसा थुप्रिएपछि बैंकहरु आधार दरमा ०.५ प्रतिशत र त्योभन्दा पनि कम प्रिमियम थपेर कर्जा प्रवाह गर्न तयार देखिएका छन् ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी कर्जाको माग निकै सुस्त रहेको बताउँछन् । ‘ब्याजदर धेरै नै तल आइसकेको छ तर कर्जाको माग छैन,’ उनले भने, ‘पाम आयल, भटमासको तेललगातका कारण व्यापारमा केही बढेको छ तर त्यो अल्पकालीन मात्र हो ।’
उनका अनुसार उत्पादनमूलक उद्योग जस्ता क्षेत्रबाट माग नभएसम्म कर्जा बढ्ने देखिँदैन । ‘तर, ती क्षेत्रबाट माग आउन उद्योगी व्यवसायीको मनोबल बढ्नुपर्छ,’ केसीले भने, ‘यही स्थितिमा उनीहरु उत्पादन बढाउन विचार छन् जस्तो लाग्दैन ।’ उनका अनुसार घरजग्गाबाट पनि कर्जाको माग खासै भइरहेको छैन ।
त्यस्तै एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ पनि कर्जाको माग बढ्न नसकेको बताउँछन् । ‘बैंकहरु तीन-चार खर्ब कर्जा सहजै दिन सक्ने अवस्थामा छन्,’ उनले भने, ‘कर्जाको ब्याजदर पनि निकै घटेको छ, ठूलो कर्जा ७ प्रतिशतसम्ममा पनि बैंकहरुले डिस्पर्स गर्ने गरेका छन् तर माग निकै सुस्त छ ।’
आधार दरमा ०.५ प्रतिशतमात्रै प्रिमियम थप गरेर दिन्छु भन्दा पनि कुनै क्षेत्रबाट कर्जाका लागि उत्साह नदेखिएको उनले बताए । ‘कतिपयले त प्रिमियम नै नथपी पनि ऋण दिएको पाइएको छ तर कर्जा लिन ठूला उद्योग पनि उत्साहित छैनन् साना तथा मझौला व्यवसाय (एसएमइज) ले पनि आँट गरेको पाइँदैन,’ उनले भने ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि कर्जाको माग बढाउने कुरा अहिले निकै चुनौतीपूर्ण देखिएको बताएका छन् । ‘ब्याजदर घटेको छ, तरलता पनि बढेको छ तर कर्जाको माग आइरहेको छैन,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकसँग पनि म निरन्तर संवादमा छु । अर्थ मन्त्रालयका सम्बद्ध पदाधिकारीलाई सँगै राखेर कुरा गरिरहेको छु ।’
तरलता बढ्यो र ब्याजदर घट्यो भनेर चित्त बुझाएर नहुने उनले बताए । ‘कर्जाको माग हुनुपर्छ । उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनाका क्षेत्रमा खर्च हुनुपर्छ । त्यसका निम्ति के गर्नुपर्छ भनेर हामी सघन छलफलमा छौँ,’ अर्थमन्त्रीले भने ।