मन्तव्य
चन्द्रप्रसाद ढकाल
२०८१ पुस १३, शनिबार २०:१६
विशेष समारोहबीच जालपादेवी केबलकारको शिलान्यास गर्न पाउँदा हामीलाई अत्यन्तै उत्साह र गर्व महसुस भएको छ । पर्यटन पूर्वाधारको विकासमार्फत जनजनलाई जोड्दै, मुलुकको पर्यटन प्रवर्धन र आर्थिक समृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित आईएमई समूह सातवटै प्रदेशमा केबलकारसहितको होटल तथा रिसोर्ट निर्माणमा लागिरहेका छौँ ।
यसै शिलशिलामा हामीले काठमाडौँको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधारसहितको गन्तव्य सञ्चालनमा ल्याइसकेका छौँ ।
रुपन्देहीको बुटबलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा छ । त्यसैगरी ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि केबलकर निर्माण अघि बढेको छ ।
चन्द्रागिरिमा बनेको त्यस विशाल पूर्वाधारले ५ सय प्रत्यक्ष नयाँ रोजगारीमात्र सिर्जना गरेको छैन, समग्र चन्द्रागिरि र यसको वरिपरि आमूल परिवर्तन ल्याएको छ । दैनिक औसत ३ हजार हाराहारीमा मानिसको आवातजावात हुँदा आर्थिक क्रियाकलाप बढेका छन् । स्थानीयको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । उनीहरुको जीवनस्तरमा सुधार आएको छ ।
चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको छ । नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बनेको छ । बालबच्चादेखि जेष्ठ नागरिकसम्मलाई एकपटक पुग्नैपर्ने पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको छ ।
बुटवल र गैँडाकोटमा पनि चन्द्रागिरिमा जस्तै सयौँ स्थानीयले रोजगारी पाएका छन् । आर्थिक गतिविधि विस्तार भएका छन् । धेरै स्थानीय, भारतीय र अन्य विदेशी पर्यटकलाई नयाँ गन्तव्य बनेको छ ।
हामीले चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर अगाडि बढेका छौँ । यो हाम्रो प्रयासबाट नेपाल आउने पर्यटकको बसाइ कम्तीमा ७ दिन लम्बियोस् भन्ने हाम्रो उद्देश्य हो ।
यसै शिलशिलामा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको संगमस्थल यस कर्णाली चिसापानीमा आज शिलान्यास हुँदै गरेको जालपादेवी केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्धन, आर्थिक विकास र समृद्धिमा कोसेढुंगा सावित हुने विश्वास हामीलाई छ ।
अहिले मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाइ निकै कम छ । र, यो प्रतिदिन झन् घट्दो छ । विदेशी पर्यटक औसत १२ दिनमात्र नेपाल बस्ने र दैनिक औसत ५० डलरभन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक छ ।
हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाइ र खर्च बढाउने खालका थप ठूला पूर्वाधार निर्माण गर्नुपर्नेछ । संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको अवलोकन लागि नेपालमा पर्यटक आउने गर्छन् ।
त्यसैले पर्यटकीय पूर्वाधार विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो । यी कार्यमा सरकारले निजी क्षेत्रलाई जति धेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ ।
हामीलाई प्रकृतिले अपार वरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना अनगिन्ती छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
निजी क्षेत्र निश्चय पनि यो मुलुकको विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटक–पटक यसको पुष्टि पनि गर्दै आएका छौँ । अनुकूल वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो ।
अहिले मुलुक संघीय संरचनामा छ । हरेक प्रदेश तथा स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
त्यसका लागि प्रदेश र स्थानीय तहहरुबीच लगानीकर्तालाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने, ठोस र व्यावहारिक नीतिमार्फत सहजीकरण गर्ने र आफ्नो प्रदेश तथा स्थानीय तहमा धेरैभन्दा धेरै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने हो । तबमात्र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल हुन सक्छ ।
सबै स्थानीय तहले दीर्घकाललाई लक्षित गरी यस्ता संरचना बनाउन जरुरी छ । म पुन: दोहोर्याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्था आवश्यक पर्छ तब मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।
हाम्रो मुलुकको सम्भावनाको क्षेत्र भनौँ वा कुनै क्षेत्रले मुलुकको कायापलट गर्न सम्भव छ भने त्यो पर्यटन नै हो । पर्यटन पूर्वाधारमा लगानी गरेरमात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजस्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ ।
पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ ।
आज शिलान्यास गरिएको यो आयोजनाले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउनेछ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र समृद्धि आउनेछ । आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन् र ?
सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिनालगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाउने भएकाले नै मैले समय–समयमा सरकारलाई निजी क्षेत्रको बिनालगानीको पार्टनर भन्ने गरेको हुँ ।
निजी क्षेत्रले निर्माण गर्ने हरेक आयोजनाले दिने सेवा, सुविधा र यससँग जोडिने अर्थोपार्जन सबै राज्यको दायित्व मै पर्ने विषय हुन् । निजी क्षेत्रले निर्माण गर्ने यिनै भौतिक पूर्वाधार र प्रदान गर्ने सेवाले राज्यको स्टाटस बढ्ने हो ।
राज्य विकसित हुने आधार पनि यिनै हुन् । निजी लगानीलाई प्रोत्साहन हुने, निजी क्षेत्रलाई विस्तार र विकास गर्न दिने र उनीहरुको मान, मर्यादा र मनोबल उच्च हुने हो भने निजी क्षेत्रले नै हो विकास, आर्थिक समृद्धि र समुन्नति ल्याउनेछ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय, प्रदेश तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह र सुझाव छ ।
अब म आज शिलान्यास हुँदै गरेको यस जालपादेवी केवलकारको बारेमा कही कुरा राख्न चाहन्छु । आधुनिक विकास र आर्थिक रुपमा अन्य प्रदेशको तुलनामा अलि पछि रहेको यस प्रदेश मलाई भने निकै सुन्दर र अलौकिक लाग्छ । यस प्रदेशका रामारोशन, बडीमालिका, खप्तड, शुक्लाफाँट, चिसापानी पुल आफैँमा धेरै सुन्दर गन्तव्य हुन् ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने कुरामा कसैको पनि दुई मत हुँदैन भन्ने मेरो विश्वास छ ।
पवित्र कर्णाली नदीमा जल पर्यटन विकासको प्रचुर सम्भावना छ । कर्णाली नदीमा र्याफ्टिङ, यस क्षेत्र आसपासका धेरै पहाड प्याराग्लाइडिङ र ट्रेकिङ तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारीसहित परम्परागत थारु संस्कृतिको प्रवर्धन गर्नसके यो क्षेत्रको भौतिक, आर्थिक र सामाजिक विकासले साच्चै नै फड्को मार्न सक्छ । यसका लागि आज शिलान्यास गरे जस्ता धेरैभन्दा धेरै पर्यटन पूर्वाधारको खाँचो मैले देखेको छु ।
केही वर्षदेखि नेपाल र नेपालका हिल स्टेसनहरु भारतीय पर्यटकको रोजाइका गन्तव्य बन्दै आएका छन् । सप्ताहन्त होस् वा बिदामा मनोरञ्जनका लागि आउने होलिडे पर्यटक हुन् वा मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन हुन् वा डेस्टिनेसन वेडिङ, अहिले नेपालका धेरै पर्यटकीय गन्तव्य भारतीय पर्यटकको पहिलो रोजाइमा पर्ने गरेका छन् । तर, एयर कनेक्टिभिटी र आवश्यक अन्य भौतिक पूर्वाधारको अभावले ती पर्यटक नेपालमा ल्याउन नसकेको यथार्थ छ ।
अहिले हामी छिमेकी मुलुक भारतको सीमाबाट करिब दुई घण्टाको ड्राइभिङ दूरीमा छौँ । भारतीय सीमादेखि सजहै आउन सकिने र पूर्व–पश्चिम राजमार्गको छेवैमा रहेको यस केबलकार र रिसोर्टले ती पर्यटकको केही हिस्सामात्र पनि आकर्षित गर्न सके यस जिल्लाको मात्र होइन, सुदूरपश्चिम प्रदेश र समग्र नेपालको पर्यटनको क्षेत्रमा अकल्पनीय फड्को मार्न सक्नेछौँ ।
हामीले निर्माण गरिरहेका यसअघिका पूर्वाधारजस्तै यहाँ पनि हामी स्थानीय सहभागिताकै मोडल अपनाएका छौँ । किनभने अब यो संरचना यहाँहरुको पनि साझा सम्पत्ति हो । त्यसैले यो आयोजनामा सहभागिताका लागि स्थानीय संयोजकका रुपमा संयोजन गर्न सूर्यबहादुर थापा ज्यूलाई हामीले आग्रह गरेका छौँ । यहाँहरु पनि कम्पनीमार्फत यस आयोजनामा सहभागी हुन सक्नु हुनेछ ।
अन्त्यमा, मलाई लाग्छ मैले यस चिसापानी क्षेत्रको इतिहास र महत्वलाई चिनाइरहनु पर्दैन । चिसापानी क्षेत्र आफैँमा सुन हो, यो केबलकार आयोजनाले यसमा सुगन्ध थप्ने हाम्रो अपेक्षा छ ।
त्यसैगरी तीन प्रदेशको संगम स्थल तथा डल्फिन र र्याफ्टिङमा प्रसिद्ध कर्णालीको यो किनार ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटनको त्रिवेणी बन्नेछ भन्नेमा हामी पूर्णरुपमा विश्वस्त छौँ ।
(कर्णाली चिसापानीमा जालपादेवी केवलकार शिलान्यास समारोहमा पुस १३ गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको मन्तव्य)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal