• Menu

सेयर ब्लग

सेयर बजार जुवाको अखडा कि लगानीको गन्तव्य ?

नेपाल प्रफिट

२०८१ पुस ११, २१:०४

सेयर बजार जुवाको अखडा कि लगानीको गन्तव्य ?

एकादेशको कुरा हो, त्यस देशको सेयर बजार एक विशाल जंगल जस्तै थियो । हरेक दिन त्यहाँ नयाँ बोटबिरुवा उम्रन्थे । कतिपय बोट फस्टाउँथे भने कतिपय सुक्दै जान्थे ।

तर, यो जंगलमा एउटा अचम्मको कुरा थियो- जुन बोटबिरुवा सुक्न थाल्थ्यो, त्यसको मूल्य चाँडै बढ्न थाल्थ्यो । जंगलमा बूढाबूढीले यो अनौठो कुरा बुझ्न सकेका थिएनन् ।

आश्चर्यमा पर्दै उनीहरु सोच्थे, ‘यो कस्तो जंगल हो, जहाँ सुकेको बोटको मूल्य बढी पर्छ ?’ तर, जंगलमा केटाकेटीहरूलाई भने यो कुरा राम्ररी थाहा थियो । उनीहरूले यस जंगललाई ‘जुवाको अखडा’ भन्थे ।

त्यो जंगलमा एउटा शक्तिशाली बँदेल पनि थियो । उसले आफूलाई सबैभन्दा चतुर धनी ठान्थ्यो र आफ्नो धनलाई यसै जंगलमा लगानी गर्थ्यो । सुकेका बोटहरू किनेर, उसले तिनको मूल्य बढाउँथ्यो र अरु जनावरलाई महँगोमा किन्न बाध्य बनाउँथ्यो ।

अन्य जनावरहरूले पनि बँदेलको हाउभाउ चुरीफुरी होहल्ला थाहा पाएपछि आफ्नो धन यही जंगलमा लगानी गरेका थिए । उनीहरू पनि सुकेका बोटहरू किन्न तँछाडमछाड गर्थे र सुकेको रुखको मूल्य बढ्थ्यो ।

यसरी, यो जंगलमा एक ठूलो खेल चलिरहेको थियो । जंगलमा बूढाबूढीहरूले यो खेललाई रोक्न खोजे । उनीहरूले जंगलको राजालाई गुहार गरे तर राजा पनि यस खेलमा फसिसकेका थिए । उनी पनि आफ्नो धन जंगलमा लगानी गर्दै थिए ।

एक दिन जंगलमा एक बुद्धिमान् बिरालो आउला । उसले जंगलको अवस्था देखेर दुःख मान्ला । उसले सबै जनावरलाई भेला पारेर भन्ला, ‘हामी सबै ठगिएका छौँ । यो जंगलमा सुकेका रुखमा लगानी गर्नु भनेको आफ्नो धन नष्ट गर्नु हो ।’

तसर्थ बँदेलको खेल बुझेर त्यसको पछि लाग्नु हुँदैन । हामी सचेत हुनुपर्छ । नियमअनुसार नै गरेको हुँ भन्दै चलखेल गरेर हामी सोझा र साना जनावरलाई कंगाल बनाउने बँदेललाई कारबाही गर्नुपर्छ ।

माथिको प्रसंग

* नेपाली सेयरबजारमा मिल्छ त ?

* एक दिन जंगलमा एक बुद्धिमान् बिरालो आउला त ?

(यो घटना कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ ।)

– नरेन्द्र सिजापतिको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्