काठमाडौं । उच्च मात्रामा सोयाबिन, पाम आयल र सूर्यमुखी फूलको तेल निर्यात हुँदा नेपालको वैदेशिक व्यापारमा सकारात्मक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्ममा सोयाबिन, पाम आयल र सूर्यमुखी फूलको तेलले निर्यातमा उच्चदरको वृद्धि देखिएको हो ।
कात्तिकसम्ममा गत वर्ष २०८०/८१ को चार महिनाको तुलनामा जम्मा ४ प्रतिशतको निर्यात वृद्धि भएकोमा मंसिरसम्ममा १६.५४ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्षको साउनदेखि मंसिरसम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आवको सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँबराबरको निर्यात भएको हो ।
पाँच महिनाको अवधिमा १२ अर्ब १९ करोड ६८ लाखभन्दा बढीको सोयाबिन, सूर्यमुखी र पाम आयल निकासी भएको छ । समीक्षा अवधिमा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सोयाबिन आयल नै निकासी भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
त्यस्तै यो अवधिमा ८५ करोड २१ लाख रुपैयाँभन्दा बढीको पाम आयल र २ अर्ब ९७ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सूर्यमुखी फूलको बीउ र तेल निकासी भएको विभागको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा आयात ३ प्रतिशतले बढेको छ । गत वर्षको पाँच महिनामा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँबराबरको आयात भएकोमा चालु आवको सोही अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँबराबरको आयात भएको छ ।
निर्यात बढे पनि व्यापार घाटा थप बढेको छ । समीक्षा अवधिमा गत वर्ष ५ खर्ब ७९ अर्बको व्यापार घाटा व्यहोरेको नेपालले यो वर्ष सोही अवधिमा ५ खर्ब ८७ अर्ब व्यापार घाटा व्यहोरेको भन्सार विभागले जनाएको छ ।
समग्र वैदेशिक व्यापार भने यो अवधिमा ४.२१ प्रतिशतले बढेको छ । गत वर्ष पाँच महिनामा ७ खर्ब ५ अर्ब ४१ करोडको वैदेशिक व्यापार भएकोमा यो वर्षको सोही अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोडको वैदेशिक व्यापार भएको हो ।