काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २८ का लागि साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ का लागि बुक क्लोजको मिति तोकेको छ ।
लाभांश प्राप्त गर्न पुससम्म सेयर होल्ड या खरिद गरेको हुनुपर्नेछ । कम्पनीले घोषणा गरेको लाभांश गत वर्षको भन्दा कम हो । गत वर्ष कम्पनीले ४० प्रतिशत लाभांश बाँडेको थियो ।