काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा गोरख राणा नियुक्त भएका छन् । कम्पनीले सोमबार राणालाई सीईओ र सञ्चालक समिति सदस्य रहने गरी अनुमोदन गरेको हो । उनले जनवरी १, २०२५ बाट औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा आएको हो । तर, हालसम्म कुनै नेपाली नागरिकले व्यवस्थापकीय नेतृत्वको अवसर पाएका थिएनन् । यसपटक भने राणा बैंकको सीईओ हुने पहिलो नेपाली बन्न सफल भएका छन् ।
हाल बैंकको सीईओ अनिर्वाण घोष दास्तिदार छन् । उनले ६ वर्षदेखि बैंकको कुशल नेतृत्व गर्दै आएका थिए । जनवरीदेखि अनिर्वाणले भने बैंक सञ्चालक समितिको विशेष सल्लाहकारको रूपमा काम गर्ने जनाइएको छ ।
बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका पहिलो नेपाली सीईओका रूपमा नियुक्त भएकोमा गोरख राणालाई बधाई दिएका छन् ।
अमेरिकाको नक्स कलेजबाट अर्थशास्त्रमा स्नातक र इलिनोइस विश्वविद्यालयबाट एमबीए गरेका राणाले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ३० वर्षभन्दा बढी समय काम गरिसकेका छन् । राणा सुरूमा ग्रिनलेज बैंकमा आबद्ध थिए ।
स्ट्यान्डर्ड चार्टर्डले ग्रिनलेज खरिद गरेपछि उनी सोही संस्थामा आबद्ध भएका हुन् । सन् २०२२ देखि उनी डेपुटी सीईओको रूपमा कार्यरत छन् । बैंकको कर्पोरेट, इन्भेस्टमेन्ट, रिटेल र वेल्थ बैंकिङमा विभिन्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अनुभव उनीसँग छ ।
राणा दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाहका ज्वाइँ हुन् । उनकी श्रीमती श्रुतीराज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा मृत्यु भएको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा ७०.२१ प्रतिशत विदेशी र २९.७९ प्रतिशत नेपाली सर्वसाधारणको सेयर स्वामित्व छ । बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ ।