• Menu

नेपाल-चीन बिजनेस समिट

सरकार र निजी क्षेत्रबाट विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता

नेपाल प्रफिट

२०८१ मंसिर १९, बुधबार १७:१४

सरकार र निजी क्षेत्रबाट विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता

काठमडौं । नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।

द्विपक्षीय व्यापार प्रवर्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेको धारणा राखे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको र दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको जानकारी गराए । साथै, उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा देश–विदेशमा पहल गरिरहेकोमा महासंघको प्रशंसा पनि गरे ।

नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक चीन भएको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनले बताए । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए ।

सिसिपिआइटीको मुख्यालय बेइजिङमा आयोजित समिटमा चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको र आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै, नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने स्पष्ट पारे ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेकाले चीनको बाटो भएर अन्य मुलुकमा व्यापार बढाउन पारवहन सहजीकरण गरिने जानकारी उनले दिए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाबाट नेपाल लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।

चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो ।

उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए । यसैगरी, उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने पनि धारणा राखे ।

यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेका थिए । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए ।

‘महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ,’ उनले भने, ‘यसैगरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ ।’

यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी पनि उनले  गराए । यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनको भनाइ छ ।

अध्यक्ष ढकालले सीमा क्षेत्रको पूर्वाधारलगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सीधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको जानकारी गराए । पर्यटन पूर्वाधारहरु जस्तै: केवलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको अनुभव उनले सुनाए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले नेपाललाई प्राथमिकतामा राख्न चीन सरकारलाई उनले आग्रह गरे ।

लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यावसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाए ।

उनले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने स्पष्ट पारे । चीनले यही डिसेम्बर १ देखि कूटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे ।

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको र समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताए । उनले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे जानकारी गराउनुका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरे । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए ।

समिटमा १२० जना चिनियाँ उद्योगी व्यवसायीको सहभागिता थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता जनाए ।

समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक राखिएको थियो ।

महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यसअघि बेइजिङ, नयाँ दिल्ली र यूएईको दुवईमा महासंघका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्री र दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्