काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । आज बुधबार भएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्सले दिएक १९२ रनको विशाल स्कोर विराटनगरले ८ विकेटको क्षतिमा १ बल बाँकी रहँदा पूरा गरेको हो ।
यससँगै टस हारेर ब्याटिङको निम्तो पाएको राष्ट्रिय कप्तान रोहित पौडेलको टिम लुम्बिनीले बनाएको हालसम्मकै उच्च स्कोर विराटनगरले चेज गरेको छ । लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा चार चौका र २ छक्काको सहयोगमा ४६ रन जोडे । त्यस्तै टोम मुर्सले १७ बलमा ३० रन जोडे । लुम्बिनीका चार ब्याटर रन आउट भएका थिए ।
विराटनगरका लागि लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा ७१ रन बनाएका थिए । उनले तीन चौका र ६ छक्काको सहयोगमा अर्धशतक प्रहार गर्दै टिमलाई जितनजिक पुर्याएका थिए ।
बम आउट हुँदा १७.४ ओभरमा विराटनगर ६ विकेट गुमाएर १६३ रनमा खेलिरहेको थियो । त्यसपछि आएका प्रतिश जीसी, सन्दीप लामिछाने र क्रिस सोलले खेल आफ्नो पक्षमा पारेका हुन् ।
अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा कप्तान रोहितले विवेक यादवलाई बलिङको जिम्मा दिएका थिए । पहिलो दुई बल लगातार वाइड फालेका यादवले अर्को बलमा सन्दीपलाई रामोन सिमोन्डबाट क्याच आउट गराएपछि विराटनगर धरापमा परेको थियो ।
त्यसपछि नवौं नम्बरमा आएका ब्याटर क्रिस सोलले चार बलमा १४ रन बनाउँदै टिमलाई पहिलो जित दिलाए । उनले अन्तिम ओभरको तेस्रो बलमा छक्का तथा चौथो र पाँचौँ बलमा लगाचार चौका प्रहार गरेका थिए ।
लुम्बिनीले जारी संस्करणमा पहिलो खेल खेलेको हो भने सन्दीप लामिछानेको टिम विराटनगर अघिल्ला दुई खेलमा पराजित भएको थियो ।