काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ मा उनले क्रान्तिको आवश्यकता औँल्याएका हुन् ।
जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष प्रचण्डले भने, ‘उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ–जान्छ तर यसलाई प्रतिक्रियावादीहरुले आफूले चाहेजस्तो बनाउन खोज्ने छन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यसबेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ ।’
उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए । लाखौं जनता सडकमा लिएर हिजो संविधान लेखनका क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनले स्पष्ट पारे ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उनले उल्लेख गरे । अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।
नेपालमा जनताले १० वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उनको भनाइ छ । जनताको तर्फबाट यति धेरै संगठित र व्यवस्थित रुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको प्रचण्डको दाबी छ ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन पासाङले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णिम अक्षरमा लेखिएको बताए ।
माओवादी केन्द्रका उपमहासचिव एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर जनार्दन शर्मा प्रभाकरले जनयुद्धको थालनी र सञ्चालन हुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने धारणा राखे ।