काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उनलाई सम्मान गरेको हो ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न १० वर्षे ‘जनयुद्ध’को पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याई पुर्याउन कुशल नेतृत्व गरेकाले गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो । कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ र चक्रपाणि खनाल ‘बलदेव’लाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।
कोषले बागमतीका १३ जिल्लाबाट एक–एक जना र सांस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ । बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशव्यापी बनाउँदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।