काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा राष्ट्रिय कप्तान रोहित पौडेलको टिम लुम्बिनी लायन्सले हालसम्मकै उच्च स्कोर बनाएको छ । दिपेन्द्रसिंह ऐरीको टिम सुदूरपश्चिम रोयल्सले मंगलबार विराटनगर किंग्सविरुद्ध बनाएको १८२ रनको स्कोरलाई लुम्बिनीले उछिनेको हो ।
लुम्बिनीले आज विराटनगरविरुद्ध नै उच्च स्कोर खडा गरेको हो । टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन बनाएको छ ।
लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा चार चौका र २ छक्काको सहयोगमा ४६ रन जोडेका हुन् । त्यस्तै टोम मुर्सले १७ बलमा ३० रन जोडे । लुम्बिनीका चार ब्याटर रन आउट भएका छन् ।
लुम्बिनीले जारी संस्करणमा पहिलो खेल खेलेको हो भने सन्दीप लामिछानेको टिम विराटनगर अघिल्ला दुई खेलमा पराजित भइसकेको छ ।