सुनसरी । प्रहरीले सुनसरीको धरानबाट मंगलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मंगलबार राति नियन्त्रणमा लिएको थियो । दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।