काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको कर्णाली दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको हो ।
टस हारेर ब्याटिङ गरेको कर्णालीले शिखर धवनको उत्कृष्ट ब्याटिङको सहयोगमा १४९ रनको स्कोर बनाएको थियो । धवनले ५१ बलमा ७२ रनको विस्फोटक पारी खेले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।
१५० रनको जवाफी लक्ष्य पछ्याएको काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा जित निकालेको छ । काडमाडौंका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान करण केसीले धमाकेदार ब्याटिङ गर्दै टिमलाई जितनजिक पुर्याएका थिए ।
सोमपालको बलमा केसीलाई देव खनालले बोर्डर लाइनमा उत्कृष्ट क्याच गर्दा काठमाडौं ६ बलमा सात रन ल्याउनुपर्ने स्थितिमा थियो । क्रिजमा रहेका सुमित महर्जनले सहजै टिमलाई जित दिलाए । काठमाडौंको यो पहिलो जित हो । यसअघि काठमाडौं चिवतन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो ।