मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको प्रस्टीकरण दिएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलसँग छलफल गर्ने योजना रहेको बताए ।
कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै उनले संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहार्द्रपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट पारे ।
महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ ।’ उनले बीआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुङ्गोमा पुर्याउनुपर्ने बताए ।
बीआरआईका सन्दर्भमा उठ्ने गरेको आशंकाका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको आसन्न चीन भ्रमण सफल हुने विश्वास उनले व्यक्त गरे । ‘विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरुबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौँ,’ महामन्त्री थापाले भने ।
स्थानीय तहको आसन्न उपनिर्वाचनमा यसअघिको तुलनामा नेपाली कांग्रेसले राम्रो परिणाम ल्याउने उनले दाबी गरे ।