गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।
‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा वर्जित गरेको भए पनि हाम्रो समाजमा अझै पनि दलित र गैरदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्,’ उनले भने, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’
पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच मंगलबार उनीहरुलाई सम्मान गरिएको छ । ‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो,’ उनले भने, ‘यसबाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौँ ।’
दलित र गैरदलितबीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सीपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए ।
‘दीर्घकालीन रुपमा उहाँहरुले लाभ लिन सक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ,’ उनले भने, ‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’