उम्मेदवारसँग कुराकानी
नेपाल प्रफिट
२०८१ मंसिर १२, बुधबार १३:०४
मंसिर १६ गते ३३ जिल्लाका स्थानीय तहका रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने स्थानमध्ये काठमाडौं उपत्यकाभित्रको र प्रमुख पदकै लागि चुनाव हुने स्थान भएकाले कीर्तिपुर विशेष चर्चामा छ । कीर्तिपुरको प्रमुख पदका लागि मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै उम्मेदवार मैदानमा छन् । स्वतन्त्रसहित २० जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी निष्क्रिय राखेर माओवादीलाई सघाउने निर्णय लिएको छ ।
माओवादीबाट कीर्तिपुरमा प्रा. डा. शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको समर्थनमा उनी कीर्तिपुर नगरपालिकामा ३१ हजार ११२ मतदातासामु आफ्ना एजेन्डा दिनहुँ राखिरहेका छन् । अध्यापकका रुपमा त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष सेवा गरेका उनी लामो समय शिक्षा शास्त्र केन्द्रीय विभाग प्रमुख रहे । सन् २००१ मा स्कुल हेल्थ एजुकेसन प्रोग्राममा विद्यावारिधि गरेका महर्जन २०७६ पुस ३० गते त्रिवि सेवाबाट निवृत्त भएपछि समाजसेवा र राजनीतिमा थप सक्रिय बने । आइतबार हुने निर्वाचनका विषयमा केन्द्रित रहेर हामीले प्रा. डा. महर्जनसँग कुरा गरेका छौं ।
कीर्तिपुरको मेयर बन्न २०७९ सालमा उम्मेदवारी दिनुभएको थियो, सफलता हात परेन, यसपटक पनि फेरि मनोनयन दर्ता गराउनुभएको छ, मेयर पदमा के छ त्यस्तो आकर्षण ?
आकर्षणभन्दा पनि स्थानीय सरकारलाई ‘गाउँ-गाउँमा सिंहदरबार’ भनिन्छ । केन्द्रीय सत्ता सञ्चालन भइरहेको सिंहदरबार जत्तिकै पावरफुल छ भनेर त्यसो भनिएको हो । यसको नेतृत्वमा पुग्ने हो भने विकास निर्माणका धेरै काम गर्न सकिन्छ भन्ने मेरो बुझाइ छ । यसपटक पनि सबै साथीहरुले तपाईं नै मेयर बन्नुपर्छ भनेर सर्वसम्मत अघि सार्नुभयो । त्यसले गर्दा म अघि बढेँ ।
मूलतः अधिकारसम्पन्न स्थानीय तहको नेतृत्वमा भिजन भएको मान्छे पुग्ने हो भने धेरै गर्न सक्छ । म पनि कीर्तिपुरलाई आफ्नो अनुभव र भिजनले बस्नलायक विकसित सहर बनाउन सक्छु भनेर नेतृत्वका लागि अघि सरेको हुँ ।
यसपटक एकीकृत समाजवादी र जनता समाजवादीको साथ लिएर मनोनयन दर्ता गराउनुभएको छ, तपाईंले चुनाव जित्ने आधार के के हुन् ?
एउटा आधार त तपाईंले भनेजस्तै दुईवटा दलले मलाई सहयोग गरेका छन् । यसका साथै माओवादीका पुराना र छुट्टिएर गएका घटकहरुले पनि मलाई साथ दिएका छन् । तेस्रो आधार, भोट माग्ने क्रममा नेकपा एमाले र नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय सरकार हेरेर जनता दिक्क भइसकेको पाएको छु । त्यसकारण आम मतदाताकले यसपटक माओवादीलाई हेर्न चाहेका छन् ।
केन्द्रीय सरकारमा पनि सुशासन कायम गर्ने सवालमा र भ्रष्टाचारका विरुद्धमा माओवादी नेतृत्व (पुष्पकमल दाहाल ‘प्रचण्ड’)ले बलियोसँग खुट्टा टेकेको कुरा कीर्तिपुरबासीले राम्रोसँग बुझेका रहेछन् । त्यस्तै माओवादी नेतृत्वको सरकारले मिटरब्याज र सहकारी पीडितका पक्षमा पनि सकारात्मक काम गरेको थियो । लोडसेडिङको अन्त्य पनि माओवादी सरकारले नै गरेको हो । यी सबै कारणले विगतमा माओवादीप्रति देखिएको वितृष्णा हटेको देखिन्छ ।
यसबाहेक लामो समयदेखि म कीर्तिपुरमा धेरै सामाजिक कामहरुमा सक्रिय छु । मसँग भिजन छ । अनुभव छ । स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातलगायतका धेरै सामाजिक कार्यमा मैले नेतृत्वदायी भूमिका निर्वाह गरेको छु । त्यसका आधारमा पनि नागरिकले मलाई नगर प्रमुखका रुपमा ‘योग्य व्यक्ति’का रुपमा हेरेका छन् ।
कीर्तिपुरको चुनावी प्रतिस्पर्धामा यसपटक प्राज्ञिक व्यक्तित्वहरुबीच नै प्रतिस्पर्धा हुँदैछ, यसले मतदातालाई पनि निर्णय गर्न कठिन बनाउला, कीर्तिपुरका मतदाताले यहाँलाई नै किन भोट हाल्ने ?
यसमा मेरो प्रस्ट धारणा छ । मैले कुनै पनि कार्यकारी पदमा नरहँदा पनि सामाजिक क्षेत्रमा धेरै कामहरुमा सक्रिय सहभागिता जनाएको छु । कीर्तिपुरबासीलाई सम्पूर्ण रुपमा समेटेर सर्वपक्षीय विकासका काममा मैले अग्रसरता लिएका धेरै उदाहरण छन् । मैले सञ्चालन गरेका विद्यालय र क्याम्पसहरुको गुणस्तरलाई लिएर पनि धेरैले प्रशंसा नै गरेका छन् । मैले नेतृत्व गरेको सहकारी संस्थाको व्यवस्थापन पनि चुस्त थियो भने प्रतिफल पनि आकर्षक थियो ।
यसबाहेक मानव अधिकार, नागरिक सरोकार केन्द्रलगायतका धेरै निकायमा संलग्न रहेर काम गरेको छु । कार्यकारी पदमा नरहेर पनि यति धेरै काम गर्न सकेँ भने पदमा रहँदा यो भन्दा धेरै गर्न सक्छु भन्ने मलाई लाग्छ । नेतृत्वमा पुगेँ भने कीर्तिपुरलाई बस्नलायक र नमुना सहर बनाउन सक्छु भन्ने आत्मविश्वास छ ।
२०६४ यताको चुनावी परिदृष्यलाई नियाल्दा कीर्तिपुरमा माओवादी कमजोर बन्दै गएको देखिन्छ, यसपटकको चुनावी अंकगणित कस्तो छ ?
२०७९ को चुनावमा हाम्रो तर्फबाट ‘प्राविधिक त्रुटी’ भएको थियो । अरुसँग आन्तरिक तालमेल गर्ने नाममा तीनवटा वडा छाडेका थियौँ । तर, जसलाई छाड्यौँ, उहाँहरुले हामीलाई धोका दिनुभयो । हामीलाई धोका दिने ठाउँमा हामी किन भोट माग्न जाने भनेर हाम्रा साथीहरु नै रिसाएका थिए । उनीहरु निष्क्रिय बसिदिए । अर्को कुरा, माओवादी पनि विभिन्न खेमामा विभाजित भएको थियो । उहाँहरुबाट सहयोग हुने कुरै भएन । नेपाली कांग्रेस र जसपाले तालमेल गरेका थिए ।
काठमाडौं जिल्लाभरमा ११ वटा पालिकामध्ये कीर्तिपुर माओवादीलाई भनिएको थियो । बाँकी ९ वटा कांग्रेस र एउटा एकीकृत समाजवादीलाई छुट्याइएको थियो । तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले केन्द्रको निर्णय मानेनन् । त्यसले गर्दा हामी एक्लै चुनाव लड्यौँ । एकातिर आन्तरिक समस्या र अर्कातिर गठबन्धनबाहिरका गतिविधि, यी दुवै कारणले हाम्रो पक्षमा नतिजा आउन सकेन ।
यसबाहेक त्यसबेला भोजभतेर, रक्सी, पैसा वितरणलगायतका तमाम काम विपक्षी दलहरुबाट भए । त्यसबेला एमालेको स्थानीय सरकार थियो । एमाले नेतृत्वको कामगराइ जनतालाई मन परेको थिएन । जनता एमाले उम्मेदवारलाई हराउन चाहन्थे । त्यस्तो अवस्थामा ‘तीनवटा वडा छाडेको माओवादीले जित्दैन होला’ भन्ने आधारमा पनि मतदाताले कांग्रेस उम्मेदवारलाई रोजे । एमालेलाई हराउने माहोलको फाइदा कांग्रेसलाई भयो ।
तर, यसपटकको अवस्था त्यस्तो छैन । एमाले र कांग्रेसका नगरको नेतृत्वबाट नागरिक सन्तुष्ट हुन सकेनन् । माओवादीले केन्द्रमा १८ महिना सरकार सञ्चालन गर्दा कुनै गलत काम नभएको, बरु राम्रो काममात्र भएको उनीहरुले महसुस गरे । त्यसकारण पनि हामी यसपटक चुनाव जित्छौं ।
कीर्तिपुरमा उपनिर्वाचनबाट आउने नेतृत्वका लागि आधा कार्यकालमात्र बाँकी छ, तपाईं निर्वाचित हुनुभयो भने यति छोटो अवधिमा नगरपालिकाको विकास र समृद्धिको रेखा कोर्न सक्नुहुन्छ ?
अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाएर म काम गर्छु । सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त बनाउने सवालमा तत्काल मेरा काम अघि बढ्नेछन् । निर्वाचित भएर पदमा पुगेकै दिनदेखि यी काम अघि बढ्छन् । नगरका सानातिना विकासका कामहरु पनि हामी सुरु गरिहाल्छौं । नगरले भ्याउन नसक्ने बजेटका कामहरुलाई पाइपलाइनमा राख्छौं । त्यसका लागि संघीय र प्रदेश सरकारलाई घच्घच्याउँछौं ।
कीर्तिपुर विश्वविद्यालयका सवालमा पनि हाम्रा केही असन्तुष्टि छन् । पहिला कीर्तिपुरसँग त्रिविले जग्गा लिँदा सरकारले गरेका बाचाहरु हामी सम्झाउँछौं र त्रिविबाट पनि केही काम लिन्छौं । त्रिवि सभामा हाम्रो प्रतिनिधित्व दावी गर्छौं र विगतका सम्झौताअनुसार कीर्तिपुरबासीलाई रोजगारी तथा छात्रवृत्ति दिलाउने कुरामा पहलकदमी लिन्छौं ।
महाराजगन्जको टिचिङ अस्पताललाई कीर्तिपुरमा विस्तार गर्न हामीले बाहिर रहेर पनि पटक–पटक कुरा गरेका छौं । त्यसलाई निष्कर्षमा पुर्याउँछौं । कीर्तिपुरलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास गर्ने गरी योजना बनाएर लाग्नेछु ।
अन्त्यमा केही भन्नु छ ?
मुख्य कुरा कीर्तिपुरलाई नमुना सहर बनाउने मेरो सोच भएकाले मतदातालाई मेरो अनुरोध के भने तपाईंहरुले कांग्रेस र एमालेको स्थानीय सरकार हेर्नुभयो, एकपटक माओवादीलाई हेर्नुहोस् । म स्पष्ट भिजनका साथ आएको छु । मलाई भोट दिएर कीर्तिपुरलाई परिवर्तन गर्ने कार्यमा सहयोग गर्नुहोस् । सबै मतदातासामु मेरो यही अनुरोध छ ।
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal