काठमाडौं । १८औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि १५ सम्म हुने भएको छ ।
विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको यस क्षेत्रलाई
राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सहआयोजनामा पुस ११ देखि १५ सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने जानकारी गराइएको हो ।
२०५५ सालबाट सुरु भएको हात्ती महोत्सव कोराना महामारी प्रकोपका कारण तीन वर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सवलाई गत वर्षदेखि निरन्तरता दिइएको हो ।
कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तँग्रिँदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उठाउन महोत्सव आयोजना गर्न लागिएको क्षेत्रीय होटल संघ नेपाल चितवनले जनाएको छ ।
सौराहामा दुई दशक अघिदेखि आयोजना हुँदै आएको यस महोत्सव सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान पुगेको संघको ठहर छ ।
हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जले पनि सहयोग गर्ने गरेका छन् ।
महोत्सवअन्तर्गतका गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन् ।
यस्ता छन् महोत्सवका आकर्षण
जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम ।
हात्तीको शृंगार प्रतियोगिता ।
हात्ती वनभोज ।
हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता ।
हात्ती म्युजिकल वाक ।
हात्तीको स्वास्थ्य परीक्षण शिविर ।
पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता ।
स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग बि टु बि ।
चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम ।
स्थानीय भेषभुषा तथा कला सँस्कृति सहित झाँकी प्रदर्शन ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा दैनिक साँस्कतिक कार्यक्रम ।
स्थानीय कृषि उत्पादनको प्रवर्धन ।
महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्धन ।