• Menu

हरियाली प्रवर्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर

नेपाल प्रफिट

२०८१ मंसिर ११, १५:०२

हरियाली प्रवर्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर

चितवन । हरियाली प्रवर्धन का लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष एक करोड बजेटसमेत विनियोजन गरिएको छ । नर्सरीका लागि कम्पाउण्ड, नर्सरी घरलगायत भौतिक संरचना निर्माण सुरु गर्न लागिएको छ ।

दाहालका अनुसार एक वर्षमा एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य महानगरको छ । बाहिरबाट बिरुवा खरिद गर्दा महंगो पर्ने भएकाले आफैले उत्पादन गरेर सडक किनारामा बिरुवा रोप्न लागिएको हो । सुन्दरता दिने र फलफूलका बिरुवा उत्पादन गरेर रोप्ने योजना महानगरको रहेको छ ।

उपप्रमुख चित्रसेन अधिकारीले गत वर्षबाट महानगरपालिकाले महानगरभित्रका सडकमा वृक्षरोपण गरेर हरियाली बनाउन थालेको बताए ।

आफ्नै नर्सरी बनेसँगै अहिले प्रतिगोटा एक हजारसम्म पर्ने बिरुवा ३०-४० मा तयार हुने उनको भनाइ छ । अधिकारीले भने, ‘आर्थिक रुपमा पनि महानगरलाई फाइदा पुग्छ ।’

महानगरपालिकाका इञ्जिनियर साकार लामाले यही महिनाबाट काम थालिने बताए । सिजनल र बहुवर्षे बिरुवाहरु उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । उनले भने, ‘महानगरपालिकाको सुन्दरता बढाउन, तापक्रम घटाउन र वातावरण संरक्षणमा योगदान पुग्नेछ ।’

महानगरपालिकाले गत वर्ष पाँच हजार हाराहारी बिरुवा रोपेको थियो । यस वर्ष २० हजार हाराहारी बिरुवा खरिद गरेर लगाउँदैछ । आफ्नै नर्सरी बनेसँगै वार्षिक एक लाख बिरुवा उत्पादन गरेर रोप्ने योजना छ ।

बालबालिकालाई ‘प्ले थेरापी’ सेवा

भरतपुर अस्पतालमा उपचाररत बालबालिकालले उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसरसमेत प्रदान गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई बिरामी छु भन्ने कुरा बिर्साउन प्ले थेरापी सुरु गरिएको बताए ।

उनले भने, ‘यसरी उपचार गर्दा बच्चाको रोगसमेत छिटो निको हुन्छ ।’ अस्पतालको उपचार र घरको जस्तो वातावरण सृर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उनको भनाइ छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा सुरु गरिएको उनले बताए ।

विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको भन्दै क्रमशः व्यवस्थित गर्दै लैजाने उनले जानकारी दिए । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिनसक्ने उनको भनाइ छ ।

अस्पतालको बाल रोग विभागमा ६६ शय्या रहेका छन् । अस्पताल आफैँले सामग्री खरिद गरी सुरु गरेसँगै विभिन्न दाताले थप सामग्री सहयोग गर्ने वचन दिएको प्राडा पौडेलले बताए । अस्पतालमा एनआइसियू, पिआइसियु सेवासमेत रहेको छ । यो संघीय अस्पताल हो । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्