काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढंगले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए ।
‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन,’ प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, ‘त्यसका निम्ति राज्य छ र सरकार छ ।’
वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उनले उल्लेख गरे । प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको यस सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने स्पष्ट पारे । उनले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रहसमेत गरेका छन् ।
नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको स्मरण ओलीले गरे । संविधानको मर्मअनुसार नै सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको उनले स्पष्ट पारे ।
‘ती अवधारणाअनुसारका कार्ययोजना तयार गर्न, तिनलाई नीति कार्यक्रम र बजेटमा सामेल गर्न आवश्यक छ र हामी त्यसलाई क्रमशः अगाडि बढाइरहेका छौँ,’ प्रधानमन्त्रीले भने ।
२०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तत्कालीन सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिक, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको उनले बताए । त्यसपछि मात्रै लोक कल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्त रुप लिन थालेको उनले दाबी गरे ।
‘यहाँसम्म आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य र समाज सञ्चालनको एउटा अभिन्न अङ्गका रुपमा बुझिरहेका छौँ र त्यसअनुसारको व्यवहार गरिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
हरेक नागरिक आफूले पनि सामाजिक सुरक्षाको सन्दर्भमा योगदान गर्नुपर्छ भनेर सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढाएको उनले बताए ।