• Menu

सातौँ सामाजिक सुरक्षा दिवस

सामाजिक सुरक्षा कोषमा सात वर्षमा १८ लाख श्रमिक आबद्ध, पौने २ लाखले लिए साढे ११ अर्बबराबरको सुविधा

नेपाल प्रफिट

२०८१ मंसिर ११, १०:४३

सामाजिक सुरक्षा कोषमा सात वर्षमा १८ लाख श्रमिक आबद्ध, पौने २ लाखले लिए साढे ११ अर्बबराबरको सुविधा

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । सोही अवसरमा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

२०७५ मंसिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । २०७५ मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागकिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ ।

कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार ४९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार ६१५, अनौपचारिक क्षेत्रका ३०७ र स्वरोजगार क्षेत्रका २२७ गरी १७ लाख ९७ हजार ६४० श्रमिक कोषमा आबद्ध भएको कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए ।

कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले हालसम्म एक लाख ८० हजार ९२२ श्रमिकलाई विभिन्न सुविधा योजनाअन्तर्गत ११ अर्ब ६२ करोड दाबी भुक्तानी गरिसकेको छ । कोषमा ६८ अर्ब ६८ करोड योगदान रकम जम्मा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्