• Menu

आइएमई पेबाट इन-ड्राइभका चालकका लागि नयाँ योजना- पुरै कमिसन फिर्ता पाउने अवसर

नेपाल प्रफिट

२०८१ मंसिर १०, २१:२५

आइएमई पेबाट इन-ड्राइभका चालकका लागि नयाँ योजना- पुरै कमिसन फिर्ता पाउने अवसर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले राइड सेयरिङ एप इन-ड्राइभका चालकका लागि ‘५ मा १००– इन-ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरुमार्फतका सेवाग्राहीलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाका बारेमा जानकारी गराउन सार्वजनिक गरिएको हो ।

मंसिर ९ देखि फागुन ९ सम्म तीन महिनाका लागि चल्ने यो योजनामा आइएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानी गरेर आफूले इन-ड्राइभलाई तिर्नुपर्ने कमिसन १०० प्रतिशत फिर्ता पाउन सक्नेछन् ।

साथै, तोकिएको कारोबार वा भुक्तानीहरु गरेबापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका छ । चालकले योजनाअन्तर्गतको कमिसन प्राप्त गर्न निम्न ५ वटा कार्य वा भुक्तानी गर्नुपर्ने हुन्छ :

– नयाँ ग्राहकलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन-इन गराउने (७५ रुपैयाँसम्म बोनस)

– यात्राको भुक्तानी क्यूआर वा वालेट ट्रान्सफरमार्फत आफ्नै आइएमई पे एपमा लिने (१० रुपैयाँ बोनस, प्रतिदिन)

– डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (१० रुपैयाँ बोनस, प्रतिदिन)

– भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (१० रुपैयाँ बोनस, प्रतिदिन)

– मोबाइल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (१० रुपैयाँ बोनस, प्रतिदिन)

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्