• Menu

सार्वभौम साख मूल्यांकनमा ‘डबल बी माइनस’ ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी : सिबिफिन

नेपाल प्रफिट

२०८१ मंसिर १०, १२:२८

सार्वभौम साख मूल्यांकनमा ‘डबल बी माइनस’ ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी : सिबिफिन

काठमाडौं । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’द्वारा गरिएको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘डबल बी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गर्नुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) उत्साहजनक रुपमा लिएको छ । सिबिफिनले सोमबार विज्ञप्ति जारी गरी ‘डबल बी माइनस’ रेटिङले उत्साहित बनाएको बताएको हो ।

दक्षिण एसियाका अन्य मुलुकमध्ये भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्यांकनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले बताएका छन् । ‘यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणितसमेत गरेको छ,’ उनले भने ।

मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षित रुपमा लगानी कर्जा विस्तार हुन नसकेको अवस्थामा साख मूल्यांकनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनका लागि यो नतिजाले ठूलो अवसर सिर्जना गरेको सिबिफिनको बुझाइ छ ।

यस मूल्यांकनले बैंक वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन तथा ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जीवनी बुटीको कार्य गर्ने सिबिफिनको विश्वास छ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गरेको सन्दर्भमा साख मूल्यांकनका क्रममा देखिएका कमी कमजोरीलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन सिबिफिनले सरकारलाई सुझाव दिएको छ ।

‘समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रुपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नवीन यात्रा प्रारम्भ गर्न नेपाल सरकार तथा सरोकारवाला सम्पूर्ण निकायहरुबाट आवश्यक पहलकदमी तत्काल अगाडि बढाइने विश्वास छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्