• Menu

उम्मेदवारसँग कुराकानी

असल शासनको स्वरुप कस्तो हुन्छ भन्ने हामी कीर्तिपुरबाट देखाउन चाहन्छौँ

नेपाल प्रफिट

२०८१ मंसिर १०, १०:४५

असल शासनको स्वरुप कस्तो हुन्छ भन्ने हामी कीर्तिपुरबाट देखाउन चाहन्छौँ

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका प्रत्यासी नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर यतिखेर मतदाता फकाउन व्यस्त छन् । कीर्तिपुरका रैथाने मानन्धरलाई कसरी हुन्छ मंसिर १६ मा हुने उपनिर्वाचन आफ्नो पक्षमा पार्नुछ । त्यसको एउटा बलियो आधार हो, २०४३ सालमा पद्मरत्न तुलाधरको चुनावी अभियानसँगै राजनीतिमा प्रवेश गरेका उनी चिरपरिचित राजनीतिज्ञ हुन् ।

काठमाडौं क्षेत्र नम्बर १० मा पर्ने कीर्तिपुर २०६४ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेको क्षेत्र हो । २०७० को संविधानसभा चुनावमा उनले प्रचण्डसँगै प्रतिस्पर्धा गरे । त्यसबेला क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजन केसी विजयी हुँदा मानन्धर दोस्रो बने भने प्रचण्ड तेस्रो ।

२०७० को संविधानसभा चुनाव लड्दासम्म अध्यापन र अधिवक्ता पेसालाई सँगसँगै अघि बढाएका उनी निर्वाचन परिमाणमा प्रचण्डलाई पछि पारेपछि राजनीतिमा थप सक्रिय बने । कानुन व्यवसाय र अध्यापनलाई भन्दा राजनीतिलाई बढी प्राथमिकता थिए ।

तर, २०७४ मा बाम गठबन्धनका कारण कीर्तिपुर १० माओवादीको भागमा प¥यो । हितमान शाक्य माओवादीबाट उम्मेदवार बने । मानन्धरको जबर्जस्त सहयोगका बीच शाक्यले जित हात पार्न सकेनन् । यसपटक एमालेले उनै मानन्धरलाई आधा कार्यकाल बाँकी रहेको नगर प्रमुख पदका लागि मैदानमा उतारेको छ ।

पढाइमा अब्बल मानन्धर २०५७ का स्नातक (बीएल)मा नेपाल टपर हुन् । कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन् । संवैधानिक कानुनमा संविधान संशोधनसम्बन्धी विषयमा विद्यावारिधि उपाधि हासिल गरेका उनी कीर्तिपुरका किसानलाई प्रेरणाका पात्र ठान्छन् । यसपटक हामीले उपनिर्वाचनको समग्रतामा केन्द्रित रहेर मानन्धरसँग कुरा गरेका छौं ।

तपाईं प्राज्ञिक व्यक्तित्व, विश्वविद्यालयको स्थापित अध्यापक, राजनीतिमा किन आउनुभयो ?

विशुद्ध सामाजिक क्षेत्रमा सेवाको भाव लिएर अगाडि बढ्नुपर्छ र समाजसेवा गर्नुपर्छ भन्ने मूल मान्यता लिएर सानै उमेरदेखि म राजनीतिमा लागेको हुँ । अहिले पनि मैले राजनीतिलाई विशुद्ध सामाजिक सेवाको क्षेत्रको रुपमा लिएका छु । राजनीतिलाई कमाइ खाने भाँडो बनाउने जुन प्रवृत्ति हिजोआज देखिएको छ, त्यसमा म सहमत हुन सक्दिन । राजनीतिलाई सेवा गर्ने एउटा पवित्र थलोको रुपमा लिएर होमिएको हुँ ।

तपाईंको सम्भावित सांसद पद एकपटक माओवादीप्रतिको ह्विमले छिन्यो, अर्कोपटक माओवादीसँगकै गठबन्धनले छिन्यो । अहिले आधा कार्यकालका लागि मेयरमै आउन तयार हुनुभयो, संसद छिर्ने सम्भावना नदेखेर कि अरु नै कारण छन् ?

मैले सांसद पद पाएकै छैन भने छिनिने भन्ने त कुरै भएन । यसपटक नगरपालिकाको मेयरमा जनता तथा पार्टी कार्यकर्ताको चाहना र इच्छाका आधारमा उम्मेदवारी दिएको हुँ ।

अध्यापन र कानुन व्यवसायलाई भन्दा बढी प्राथमिकता दिएर राजनीतिमा लाग्नुभएको छ, आधा कार्यकालका लागि मेयर पदमा उम्मेदवारी नदिएको भए २०८४ मा सांसदकै टिकट पाउने सम्भावना थिएन र ?

अहिले कीर्तिपुर नगरपालिकाको चुनौतीलाई कसरी सामना गर्ने भन्ने महत्वपूर्ण कुरो हो । नगरका जनप्रतिनिधिमा सबल नेतृत्वको अभावमा जुनखालको निराशा प्रकट भइरहेको छ, उनीहरुको निराशाकै कारण नगरपालिकाले कुनै पर्फर्मेन्स देखाउन सकिरहेको छैन । नगरपालिकाले पर्फर्मेन्स देखाउन नसक्दा नागरिकमा वितृष्णा फैलिएको छ । यो अवस्थामा यहाँको सामाजिक, आर्थिक, राजनीतिक हरेक कुराको स्थिरताका लागि मैले उम्मेदवारी दिनुपर्छ भन्ने ठानेको हुँ । पहिलो त २०८४ को सम्भावना भनेको भविष्यको कुरा हो । दोस्रो, म सांसद पदको पछि-पछि लागेको व्यक्ति पनि होइन । त्यसकारण ८४ लाई मैले प्राथमिकतामा राखिन ।

नयाँ संविधानअनुसार स्थानीय तह निकै नै अधिकारसम्पन्न भएका छन् । नगर प्रमुख आफ्नो भूगोलको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । प्रमुखले चाहने हो भने नगरको कायापलट नै गर्न सक्छ, यो हाम्रो बुझाइ हो, यहाँलाई के लाग्छ ?

तपाईंको बुझाइमा मेरो शतप्रतिशत सहमति छ । संविधानले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अधिकार सूची स्पष्ट पारेको छ । एउटा, स्थानीय सरकारको छुट्टै अधिकारको सूची छ । अर्को, स्थानीय सरकार र प्रदेश सरकारको साझा सूची छ । तेस्रो, स्थानीय, प्रदेश र संघीय सरकारको साझा सूची छ । यी अधिकारले स्थानीय सरकारलाई कार्यकारी अधिकारसहितको असाध्यै बलियो बनाएको छ ।

राजनीतिलाई कमाइ खाने भाँडो बनाउने जुन प्रवृत्ति हिजोआज देखिएको छ, त्यसमा म सहमत हुन सक्दिन । राजनीतिलाई सेवा गर्ने एउटा पवित्र थलोको रुपमा लिएर होमिएको हुँ ।

त्यसमा पनि संघीय सरकार र प्रदेश सरकार संसदीय प्रणालीअनुसार चल्छन् भने स्थानीय सरकार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा चल्छ । यसमा कुनै किसिमको अविश्वासको प्रस्ताव भन्ने हुँदैन । विश्वासको मत लिनुपर्ने प्रावधान हुँदैन । एकपटक नगर सरकार प्रमुखको रुपमा निर्वाचित भयो भने जसरी एउटा कार्यकारी प्रमुखले देशलाई आफूअनुकूल चलाउन सक्छ, नगर प्रमुखले पनि त्यसरी नै चलाउन सक्छ । त्यो आधारमा कीर्तिपुरमा जुन खालका समस्या छन्, कीर्तिपुरलाई अघि बढाउन जुन खालका तमाम काम बाँकी छन्, ती काम अघि बढाउन र समस्या समाधान गर्न हामी निर्वाचित भएपछि ती अधिकारको प्रयोग गरेर अगाडि बढ्नेछौं । नगरको कायापलट गर्न सक्ने विश्वास छ ।

२०७० देखि अरु कामलाई भन्दा बढी प्राथमिकता दिएर पूर्णतः राजनीतिमा होमिनुभयो, जनतासँग नजिक भएर काम गर्नुभयो, स्थानीय सरकारहरु कसरी चलिरहेको पाउनुहुन्छ ?

देशभरका स्थानीय सरकारहरुको कुरा गर्नुपर्दा संविधानले नै दिएका अधिकार दिन पनि राजनीतिक दलहरु अन्कनाइरहेको अवस्था छ । त्यसले गर्दा अहिलेको व्यवस्थाप्रति नै नागरिकमा अविश्वास र निराशा बढेको हो कि जस्तो पनि देखिन्छ ।

तपाईंले उम्मेदवारी दिएको कीर्तिपुर नगरपालिकाचाहिँ कसरी चलिरहेको पाउनुहुन्छ ?

नेतृत्वविहीनताका कारण कीर्तिपुर नगरपालिकाले भने यसबीचमा कुनै पर्फर्मेन्स देखाउन सकेको छैन । त्यसका लागि एउटा सक्षम, सबल र सबैलाई समेटेर लान सक्ने नेतृत्वको आवश्यकता छ, त्यो नेतृत्वको पूर्ति म गर्नु सक्छु भन्ने मेरो विश्वास छ ।

कीर्तिपुरका मतदाताले सुरेन्द्र मानन्धरलाई नै किन छान्ने ?

कीर्तिपुर नगरपालिकामा विगतमा सामाजिक, आर्थिक, पुरातात्विक र भौतिक निर्माणका क्षेत्रका काममा एकखालको गतिशीलता आएको थियो । नगर प्रमुखमा राजकुमार नकर्मी आएपछि नगरबासीमा एकखालको उत्साह पनि देखिएको थियो । तर, उहाँ लामो समय बिरामी हुनुभयो । उहाँको देहावसान नै भयो । उहाँले अघि बढाउन खोजेका काम सबैजसो अहिले निष्क्रिय छन् । त्यो निष्क्रियतालाई चिरेर कीर्तिपुरलाई फेरि विकासको गतिमा लैजानका लागि मैले उम्मेदवारी दिएको हुँ ।

निर्वाचित हुनुभयो भने नगरको विकास कसरी अघि बढाउनुहुन्छ ?

हामी कीर्तिपुर नगरको विकास अघि बढाउने सवालमा यहाँका सबै राजनीतिक दलका साथीहरु, बुद्धिजीवी लगायतसँग छलफल चलाउँछौं । उहाँहरु सबैको सल्लाह र सहभागितामा कीर्तिपुरको विकास अघि बढाउँछौं । यहाँका अहिलेका जनप्रतिनिधिले सबल र सक्षम नेतृत्वको अभावमा आफ्नो क्षमता पनि देखाउन सकिरहनुभएको छैन । हामी नगरपालिकाका वडाध्यक्ष र अन्य जनप्रतिनिधि साथीहरुको क्षमता प्रस्फुटन हुनेगरी योजना बनाएर सामूहिक रुपमा काम गर्छौं । त्यसका लागि मैले कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।

चुनाव जित्नुभयो भने गर्ने पहिलो काम के हो ?

चुनाव जितेपछि पहिलो काम यहाँका राजनीतिक दलका साथीहरुको विश्वास जित्छु । जनप्रतिनिधिको विश्वास जित्छु । त्यसपछि सामूहिक रुपमा कीर्तिपुरमा केही योजना अघि सार्नेछु । त्यसमा सबै जनप्रतिनिधिले सहयोग गर्ने अवस्था बन्नेछ । कीर्तिपुरको शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, भाषा, कला, संस्कृतिलगायतमा देखिएका तमाम समस्यालाई एक–एक गर्दै चिरेर अघि बढ्छु । अबका दिनमा नगरपालिका राम्रैसँग अघि बढ्ने भो है भन्ने आशा जगाउने काम हामी गर्छौं । असल शासनको स्वरुप कस्तो हुन्छ भन्ने हामी कीर्तिपुरबाट देखाउन चाहन्छौं ।

चुनावको प्रारम्भिक अंकगणित कस्तो छ, जितिन्छ ?

जितिन्छ ।

विगतमा गठबन्धन गरेका दलहरु अहिले एक्लाएक्लै मैदानमा उत्रिँदैछन्, अंकगणित फरक पर्न सक्छ, आकलन गर्न त्यति सजिलो छ र ?

घरदैलोका दौरान र अन्य विभिन्न कार्यक्रममा जनताले अपार साथ र समर्थन देखाइरहनुभएको छ । त्यो आधारमा हामी निर्वाचित नै हुँदैछौं भन्ने आकलन गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्