सुनसरी । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजारको लागतमा तरकारीखेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।
भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ ।
भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए ।
‘नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन,’ उनले भने ।
इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा भारतबाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री गर्न समस्या हुने गरेको बताउँछन् । तरकारी खेती गर्न भारतमा भन्दा नेपालमा महँगो पर्ने भएकाले भारतीय किसानसँग प्रतिस्पर्धा गर्न समस्या भएको स्थानीय किसान बताउँछन् । अहिले भारतबाट आउने बन्दागोभी प्रतिकिलो २० देखि ३० सम्ममा बिक्री हुने गरेको छ ।
नेपाली किसानलाई सोही मूल्यमा बिक्री गर्नुपर्दा लगानी असुल नहुने स्थानीय किसान चन्दन मेहताले बताए । देवानगञ्ज बजारमा भारतबाट भित्रिने तरकारीको मात्रा बढेसँगै यहाँका किसानले उत्पादन गरेको तरकारीको मूल्यमा गिरावट आएको छ ।
भारतबाट सस्तो मूल्यमा आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात बजारमा भित्रिएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसानले बताएका छन् ।
उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा किसानको लगानी डुब्नुका साथै तरकारीखेतीलाई निरन्तरता दिन समस्या भएको किसान बताउँछन् । भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय तहसँग किसानले माग गरेका छन् ।