• Menu

आईईएलटीएस टेस्टको शुल्क अब आइएमई पे एपबाटै तिर्न सकिने

नेपाल प्रफिट

२०८१ मंसिर ७, शुक्रबार १८:५२

आईईएलटीएस टेस्टको शुल्क अब आइएमई पे एपबाटै तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

यस सुविधामार्फत प्रयोगकर्ताले आइएमई पे एपमार्फत आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् । प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१ को को निम्ति आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

सीमित अवधिका लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा १ हजार रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

‘हामी प्रयोगकर्तालाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आईईएलटीएस शुल्क भुक्तानीका लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्तालाई आफ्नो उद्देश्य पूरा गर्न सशक्त बनाउने लक्ष्य लिएका छौँ ।’

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्