काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘डबल बी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको अर्थ मन्त्रालयले औपचारिक जानकारी गराएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको मन्त्रालयले स्पष्ट गरेको छ ।
‘क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ,’ अर्थ मन्त्रालय भनेको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्नसमेत सहयोग पुग्ने मन्त्रालयको ठहर छ ।
सार्वभौम क्रेडिट रेटिङमा मूलत: अर्थतन्त्रका चार क्षेत्रहरु अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ ।
मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षहरुलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम डीदेखि अधिकतम ट्रिपल एसम्म रेटिङ प्रदान गर्ने गरिन्छ ।
ट्रिपल ए ले मुलुकको हाई क्रेडिट क्वालिटी रहेको देखाउँछ भने डीले डिफल्टको अवस्थालाई इंगित गर्छ । उक्त प्रक्रियाबमोजिम फिच रेटिङ्स लिमिटेडले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचकहरु, सोह्रौं योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको मन्त्रालयले जनाएको छ ।
गुणात्मक मूल्यांकनको चरण अन्तर्गत फिचको विज्ञ समूहले सन् २०२४ सेप्टेम्बर ११ देखि १३ सम्म नेपालको स्थलगत भ्रमण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका उच्च पदाधिकारीसँग परामर्श र छलफल गरेको थियो ।
त्यस्तै निजी क्षेत्र र नेपालस्थित द्विपक्षीय एवं बहुपक्षीय विकास साझेदार निकायका अधिकारीहरुसँग पनि परामर्श गरेको थियो । टोलीले नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजना कार्यान्वयनको मूल्यांकन गर्न नमुनाको रुपमा नागढुंगा सुरुङ मार्गको अवलोकनसमेत गरेको थियो । हाल फिचको टोलीले नेपालको सार्वभौम क्रेडिट रेटिङ गरी त्यसको प्रतिवेदन प्रेषित गरेको छ ।
सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्यांकनको आधारको रुपमा लिने गर्छन् । यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्याउँछ ।
यस अर्थमा सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मूल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिने अर्थ मन्त्रालयले उल्लेख गरेको छ । नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ ।
सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्यांक विश्लेषणको नतिजामात्र नभएर भविष्यपरक दृष्टिकोण पनि हो । यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आकलन गर्दै मुलुकले भविष्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्छ ।
क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताका लागि उत्साह सिर्जना गरेको छ ।
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्वतयारीको रुपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिन्छ ।
नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीका लागि सहज वातावरण भएको स्थापित गरेकाले विदेशी लगानीकर्ताको आत्मविश्वास अभिवृद्धि हुन गई आगामी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रका ठूला आयोजनाहरुमा लगानी अभिवृद्धि हुने अपेक्षा मन्त्रालयको छ ।
नेपालको क्रेडिट रेटिङमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले सल्लाहकारको भूमिका निर्वाह गरेको थियो । त्यस्तै बेलायत सरकारको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)ले वित्तीय स्रोतको व्यवस्था र क्षमता विकासमा सहयोगी भूमिका निर्वाह गरेको थियो ।