काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले ‘बैंक लिंक गरौँ, मोबाइल जितौँ’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत आइएमई पे एपले प्रयोगकर्तालाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिंक गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको जनाएको छ ।
मंसिर ६ देखि माघ ६ सम्म दुई महिना चल्ने योजनामा आइएमई पेका प्रयोगकर्ताले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिंक गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानी गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन पाउनेछन् ।
प्रयोगकर्ताले आफ्नो बैंक खातालाई सिधै आइएमई पे एपमार्फत अथवा कनेक्ट आइपीएसमार्फत आइएमई पे एपमा लिंक गर्न सक्नेछन् । यस अफरमा सहभागी हुन पहिल्यै लिंक नभएको बैंक खाता लिंक गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्नेबाहेक अन्य तीनवटा भुक्तानी गर्नुपर्ने हुन्छ ।
यो अभियान हाम्रा प्रयोगकर्तालाई डिजिटल भुक्तानी अपनाउन र नगदरहित जीवनशैलीको फाइदाको आनन्द उठाउन प्रोत्साहन गर्न सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
‘आफ्ना बैंक खाता लिंक गरेर आफ्नो स्मार्टफोनको सुविधाबाट प्रयोगकर्ताले सजिलैसँग रकम ट्रान्सफर गर्न, विभिन्न बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्छन्,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।