नेपाल प्रफिट
२०८१ मंसिर ५, बुधबार १५:०४
काठमाडौं । ‘यसपालि हामीले जित्ने आधार धेरै छन्,’ काठमाडौं महानगरपालिका वडा नम्बर १६ का नेकपा एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधरले एकछिन घोरिएर भने, ‘मूल आधार भनेको अहिले पार्टी एकताबद्ध भएर मैदानमा उत्रिएको छ ।’
उनको भनाइको आशय थियो- २०७९ को निर्वाचनमा एमालेबाट टुक्रिएर गएको नेकपा एकीकृत समाजवादी अहिले क्षीण भइसकेको छ, त्यसले अब कुनै असर गर्दैन ।
हुन पनि चुनावको केही अघि माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण गमाललाई काठमाडौं-१६ का १५ सय ८९ मतदाताले भोट हाले । एमालेको अपेक्षाभन्दा निकै ठूलो मत गमालले पाएका थिए ।
सोही मत एमाले उम्मेदवार तुलाधरलाई भारी पर्यो । निर्वाचित कांग्रेस उम्मेदवार मुकुन्द रिजाल (स्वर्गीय)ले ४ हजार १९ मत ल्याउँदा उनी ७०९ मतले पछि परे । त्यसमाथि रिजाललाई नेकपा माओवादी केन्द्रको पनि साथ थियो ।
सिभियल निमोनियाका कारण २०८० भदौ २१ गते वडाध्यक्ष रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
अहिले परिस्थिति फेरिएको छ । ‘एकीकृत समाजवादीमा लागेका अधिकांश नेता कार्यकर्ता एमालेमै फर्किएका छन्,’ तुलाधर भन्छन्, ‘त्यो पार्टीमा भविष्य नदेखेपछि उनीहरु मूल पार्टीमा फर्किनु नै जितको बलियो आधार हो ।’
तुलाधरले जितको अर्को आधार आफू सर्वसम्मत चयन हुनु र पार्टीले सबैभन्दा पहिला उम्मेदवार घोषणा गर्नुलाई लिएका छन् । एमालेले उम्मेदवार छानिसक्दा देशकै ठूलो दल नेपाली कांग्रेसभित्रका आकांक्षी लर्को लागेर शीर्ष नेताका दैलो चहारिरहेका थिए ।
मुख्य प्रतिस्पर्धी मानिएको कांग्रेसले मनोनयन दर्ताकै दिन अबेरमात्र उम्मेदवार टुंगो लगाएको हो । जित्ने आँट बटुल्न नसकेपछि तेस्रो ठूलो दल माओवादीले उम्मेदवारी नै दिएन ।
पूर्वमन्त्री एवं सांसद रामवीर मानन्धर एमालेमा सक्रिय भएर लाग्नुलाई पनि उनले जितको बलियो आधार मानेका छन् । २०५४ सालमा तुलाधर वडा सदस्य हुँदा अध्यक्ष तिनै मानन्धर थिए ।
‘उहाँसँग मेरो ट्युनिङ त्यतिबेलादेखि नै मिल्छ,’ प्रफुल्ल चेहरा बनाउँदै तुलाधरले भने, ‘उहाँको निष्क्रियताले निकै चिन्ता बढाएको थियो, अब त काँध नै हालेको महसुस भइरहेको छ ।’
हुन पनि काठमाडौं वडा नम्बर १६, नेकपा एमाले र मानन्धरका बीचमा एउटा बलियो इतिहास छ । नयाँ बसपार्क, बालाजु औद्योगिक क्षेत्रलगायतको जति पनि विकास भएको छ, त्यसको पछि एमालेसँगै मानन्धरको ठूलो भूमिका छ ।
हाल २१ हजारभन्दा बढी मतदाता रहेको यो वडाबाट मानन्धर २०४९ र २०५४ मा गरी दुईपटक अध्यक्ष निर्वाचित भएका थिए ।
पछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि जित हात पारे । २०७४ को मध्यावधी चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी बने । २०७७ मा राज्यमन्त्री बन्न सफल भए ।
मानन्धर २०७९ को स्थानीय तह चुनावअघि पार्टीका केही निर्णयमा असन्तुष्टि जनाउँदै निष्क्रिय बसेका थिए । २०७९ को चुनावमा त स्वतन्त्र उम्मेदवारी नै दिए ।
तर, स्थानीय तह उपनिर्वाचनको सम्मुखमा कात्तिक अन्तिम साता आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि भन्दै उनले एमालेमा सक्रिय हुने निधो गरे । एमालेले तुलाधरलाई सर्वसम्मत उम्मेदवार घोषणा गरेदेखि नै मानन्धर चुनावी रणनीति र प्रचारप्रसारमा एकप्रकारले होमिए ।
त्यसयताका हरेक दिन उनी घरदैलोमा छन्, कहिले उम्मेदवारसँग त कहिले कार्यकर्तासँग । तुलाधरले भनेजस्तै गरी मानन्धर ट्युनिङ मिलाएरै मैदानमा उत्रिएका छन् । यससँगै एमालेका केन्द्रीय सदस्य एवं पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्य पनि तुलाधरका लागि भोट माग्न दिनहुँ खटिरहेका छन् ।
२०७४ को चुनावमा तत्कालीन एमाले उम्मेदवार विश्वराम सापकोटा उनै मुकुन्द रिजालसँग जम्मा ६९ मतले पराजित भएका थिए । चारवटै सदस्य भने एमालेको पोल्टामा गएको थियो ।
२०७९ को चुनावमा पनि अध्यक्षबाहेक पार्टीका चारवटै सदस्य पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । यसपटक पार्टी एकढिक्का भएकाले पनि विजयी हुनेमा तुलाधर निश्चिन्त छन् ।
अहिले एमालेप्रति जनलहर र अपेक्षा पनि बढेको उनको तर्क छ । ‘भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताका पक्षमा नेकपा एमालेको अडानले पनि नागरिकमा बेग्लै आशाको सञ्चार गरेको छ,’ उनले भने, ‘त्यसकारण पनि मतदाताले एमालेको विकल्प खोज्छन् भन्ने लाग्दैन ।’ त्यसमाथि वडा नम्बर १६ लाई वामपन्थी गढ मानिन्छ ।
को हुन् तुलाधर ?
तुलाधार राजनीतिक व्यक्तित्व जति हुन्, त्यति नै सामाजिक पनि । सरस्वती क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेका उनी नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित असहाय ज्येष्ठ नागरिक आश्रमका सञ्चालक हुन् ।
कलेज अध्ययनका बेला नेपाल भाषा आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनले आफूले भने नेपाली भाषा अध्ययन गरेका थिए । ‘भाषिक आन्दोलनमा सहभागी हुनु, भाषाको जगेर्ना गर्नु र ज्ञान प्राप्त गर्नु फरक-फरक कुरा हुन् भन्ने मलाई लाग्छ,’ उनले भने ।
काठमाडौंको पकनाजोल घर भएका तुलाधरको परिवार उसबेला मिठाइ पसल गर्थ्यो । ‘घरमा कम्युनिस्ट नेता श्याम घिमिरे डेरा बस्नुहुन्थ्यो,’ उनले विगत सम्झिए, ‘उहाँकै व्यक्तित्व र विचारबाट प्रभावित भएर म नेकपा एमालेमा लागेँ ।’
मिठाइ पसलमा नेपाली कांग्रेसका नेताहरु गोविन्दराज जोशी, रामचन्द्र पौडेललगायत पनि आउँथे । तर, तिनीहरुका कतिपय कुरा तुलाधरलाई मन पर्दैनथ्यो । ‘उनीहरुका कुरा ध्यान दिएर सुन्थेँ तर कहिल्यै उनीहरुबाट प्रभावित हुन सकिन,’ उनले भने, ‘त्यसले बाम राजनीतिमा झन् धेरै रुचि बढायो ।’
त्यही ताका अर्का कम्युनिस्ट नेता एवं छिमेकी केपी उप्रेतीले उनलाई नेकपा एमालेको पार्टी सदस्यता (२०५२) दिलाए । तुलाधर काठमाडौं रेडक्रस सोसाइटीको कोषाध्यक्ष पनि हुन् ।
यस्ता छन् एजेन्डा
तुलाधर शान्त स्वभावका छन् । विकास र समृद्धिका अस्वाभाविक आश्वासन बाँड्दैनन् । तर, विकास निर्माणलाई नै विशेष प्राथमिकतामा राखेका छन् । स्थानीय कला र संस्कृतिको जगेर्ना उनको मूल एजेन्डा हो ।
जनताको ठूलो आकांक्षाका बीच उनले साना-मसिना र देखिने खालका थुप्रै काम गर्ने योजना बनाएका छन् । ‘नगरको शान्ति सुरक्षादेखि बिजुली बत्ती, खानेपानी, स्वास्थ्य र सडक निर्माणका क्षेत्रमा धेरै काम गर्न सकिन्छ,’ तुलाधरले गम्भीर भएर भने, ‘निर्वाचित भएँ भने कार्यकालको बाँकी अढाई वर्षमा जनताले सधैं सम्झिने खालका धेरै काम गर्छु ।’
उनलाई नागरिकको घर भत्काएर सडक बनाउनमा रुचि छैन । भित्रका गल्ली र चोक-चोकका घरमा सहरी संरचना नबिगारीकन र नागरिकको सम्पत्तिमा क्षति नपुर्याइकन पानीका पाइप र आगो निभाउने ग्यासका पाइपहरु (फायर एक्सटिङग्विसर) तैनाथ राख्ने उनको योजना छ ।
त्यस्तै ग्यासबाट हुने दुर्घटना र सडक दुर्घटना कम गर्न युवा सहभागितामा सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउने उम्मेदवार तुलाधरले बताए । ‘सडकमा २५ सेकेन्डको गल्तीले २५ वर्षे युवाले ज्यान गुमाउँदा परिवार र राज्यलाई कति ठूलो क्षति पुग्छ,’ उनले भने, ‘त्यसको जिम्मेवार त राज्य पनि हो, त्यसकारण सडक दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमलाई बृहत रुपमा सञ्चालन गर्नुपर्छ ।’
अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि पनि उनले आफ्नै ढंगको योजना बनाएका छन् । ‘अहिलेको समाजमा सबै कुरा लादेर मात्र हुँदैन,’ आत्मविश्वासका साथ तुलाधर भन्छन्, ‘हामीले उनीहरुका कुरा सुनेकै छैन, तथ्यांक लिने, उनीहरुका कुरा सुन्ने र आफ्ना कुरा राख्ने गरियो भने त्यो पनि सहजै टुंगिन्छ भन्ने लाग्छ ।’
केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूलो वडा भएकाले पनि यहाँको जित-हारले चार ठूला पार्टीले जनतालाई फरक सन्देश दिन सक्ने ठानेका छन् ।
एमालेले २०७९ कै उम्मेदवार तुलाधरलाई दोहोर्याउँदा कांग्रेसले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति पाठकलाई अघि सारेको छ । त्यस्तै एकीकृत समाजवादीले मीनबहादुर मानन्धरलाई उठाएको छ । मानन्धरलाई माओवादीको पनि सहयोग छ । देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
मंसिर १६ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ सहित विभिन्न स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ ।
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal