बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा ३५ लाख भेटी संकलन भएको छ । असोजको महिनाको तुलनामा कात्तिकमा १० लाख रुपैयाँ कम भेटी संकलन भएको छ ।
बागलुङ कालिका मन्दिरमा बडा दसैँको असोजमा ४५ लाख २७ हजार भेटी संकलन भएको थियो । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
जसअन्तर्गत कात्तिकमा ३५ लाख भेटी र अन्य आम्दानी भएको तथा १६ लाख खर्च भएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
‘अघिल्लो महिना दसैँको समय भएकाले १० लाख भेटी बढी संकलन भएको थियो, कात्तिकमा धार्मिक पर्यटकले मन्दिर भरिभराउ भएको थियो,’ उनले भने, ‘मन्दिरको मुख्य आम्दानीको स्रोत भेटी हो, अन्य घरभाडालगायतको आम्दानी हुन्छ, आम्दानीबाट मन्दिरले तलब भत्तासहित पूर्वाधारमा लगानी गर्दै आएको छ ।’
मन्दिरमा हिजोआज धार्मिक पर्यटकको चहलपहल बढेको छ । दसैँयता मुक्तिनाथ र ढोरपाटन जाने पर्यटक कालिका मन्दिर आउँदा मन्दिरमा दैनिकजसो भीड लाग्ने गरेको हो ।