काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा कर्जा प्रवाह निराशाजनक देखिएको छ । साउनदेखि असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा जम्मा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ छ । यो २.५ प्रतिशतको वृद्धिदर हो ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ३ करोड अर्थात २.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।
२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरुको २.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।
२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३.४ प्रतिशत छ भने घर जग्गा धितो सुरक्षणमा ६५.८ प्रतिशत छ । २०८० असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.० प्रतिशत र ६७.३ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.८ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा पनि उक्त कर्जा १.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा यस्तो कर्जा ६.१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद दाबी ३.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा खुद दाबी ४.४ प्रतिशतले बढेको छ ।
मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो दाबी २.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.२ प्रतिशतले बढेको छ ।
निक्षेप २.६ प्रतिशत वृद्धि
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७० अर्ब (२.६ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा निक्षेप १५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ ।
२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको थियो ।
२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत छ । २०८० असोज मसान्तमा यस्तो निक्षेपको अंश ३६ प्रतिशत थियो ।