• Menu

विदेशी विनिमय सञ्चिति १६ अर्ब ६० करोड डलर, १७.६ महिनाको वस्तु आयात धान्न पर्याप्त

नेपाल प्रफिट

२०८१ मंसिर ४, मंगलबार १५:३३

विदेशी विनिमय सञ्चिति १६ अर्ब ६० करोड डलर, १७.६ महिनाको वस्तु आयात धान्न पर्याप्त

काठमाडौं । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा मंगलबार सार्वजनिक तथ्यांकअनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए ।

प्रतिक्रिया दिनुहोस्