• Menu

महँगी वृद्धिदर ४.८२ प्रतिशत, थोक मुद्रास्फीति गत वर्षको तुलनामा धेरै

नेपाल प्रफिट

२०८१ मंसिर ४, मंगलबार १४:४४

महँगी वृद्धिदर ४.८२ प्रतिशत, थोक मुद्रास्फीति गत वर्षको तुलनामा धेरै

काठमाडौं । २०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार महँगी वृद्धिदर गत वर्षको सोही महिनाको तुलनामा निकै कम छ ।

गत वर्ष असोजमा उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत थियो । असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत छ ।

गत वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.४८ र ६.८५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै माछा तथा मासु उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

असोजमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६ प्रतिशत, मधेस प्रदेशको ५.०८ प्रतिशत, बागमती प्रदेशको ४.२४ प्रतिशत, गण्डकी प्रदेशको ३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.४२ प्रतिशत, कर्णाली प्रदेशको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत छ ।

असोजमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५० प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत छ । २०८१ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५१ प्रतिशत छ । गत वर्ष असोजमा थोक मुद्रास्फीति २.७८ प्रतिशत थियो ।

असोजमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२२ प्रतिशत, ४.३६ प्रतिशत र २.६३ प्रतिशत छ । त्यस्तै निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.५८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्