तनहुँ । तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो ।
नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब ५० लाख बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नुपरेको भिमादका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । उनले भने, ‘कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।’
‘विकास निर्माणको करिब २५ लाख खर्च गरिएको छ,’ उनले भने, ‘खानेपानी संवेदनशील भएकाले खानेपानी योजना मर्मतसम्भार कार्यलाई प्राथामिकता दिइएको छ ।’
उपभोक्तामार्फत नगरपालिकामा निवेदन आएपछि प्राविधिकले लागत अनुमान गरी अनुगमनपश्चात् मर्मतसम्भार कार्य गर्ने गरिएको सुवेदीले बताए ।
‘नगरपालिकामा अहिले पनि चार-पाँचवटा खानेपानी योजनाका निवेदन परेको छ,’ उनले भने, ‘प्राविधिक खटाएर लागत अनुमानपश्चात् मर्मतसम्भारका कार्य अघि बढाउँछौ, अधिकांश योजनाको मर्मत कार्य भइसकेको छ ।’
जिल्लाका अन्य पालिकाको तुलनामा असार र साउनमा आएको बाढी र पहिरोले भिमाद नगरपालिका क्षेत्रमा धेरै क्षति बनाएको आकलन गरिएको सुवेदीले बताए ।
ठूला खानेपानी योजनामा ८ लाखदेखि १० लाख खर्च आइरहेको नगरपालिकाले जनाएको छ । ‘विकास निर्माणका भौतिक संरचना आउँदो वर्ष गरौँला,’ सुवेदीले भने, ‘नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु हुँदैन भनेर नगरपालिका सक्रिय रुपमा लागिपरेको छ ।’