• Menu

जलवायु परिवर्तन न्यूनीकरणका लागि नेपाल, बंगलादेश, भुटानबीच होला त साझेदारी ?

नेपाल प्रफिट

२०८१ मंसिर ३, सोमबार १५:२९

जलवायु परिवर्तन न्यूनीकरणका लागि नेपाल, बंगलादेश, भुटानबीच होला त साझेदारी ?

अजरबैजान । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्न लागि नेपालले बंगलादेशलाई आग्रह गरेको छ ।

अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप-२९ मा भाग लिन अजरबैजान आएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच भएको द्विपक्षीय भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेन्डा बनाउन जोड दिइएको हो ।

नेपालले बंगलादेशलाई जलविद्युत् निर्यात गर्न सुरु गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत् सफा ऊर्जा भएकाले जलवायु परिवर्तन न्यूनीकरणको सन्दर्भमा महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार नेपालमा ऊर्जासम्बन्धी जिम्मेवारी ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत भए पनि, जलवायु परिवर्तनको सन्दर्भमा महत्वपूर्ण हुने भएकाले, बंगलादेशले स्वच्छ ऊर्जा आयातलाई प्राथमिकतामा राखेको विषय महत्वपूर्ण रहेको बताए ।

‘भविष्यमा हाम्रो ऊर्जासम्बन्धी सहकार्यलाई थप उचाइमा पुर्‍याउन अग्रसर रहन चाहन्छौँ । बंगलादेश र नेपालबीच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशबीच सहकार्यको ठूलो महत्व छ,’ मन्त्री शाहीले भने ।

सन् २०२६ को अन्त्यमा हाम्रा दुवै राष्ट्रहरु अतिकम विकसित मुलुकको स्तरबाट अघि बढ्ने भएकाले त्यस बेलाका लागि पनि यो सहकार्य अझ महत्वपूर्ण हुनेछ ।

जलवायु परिवर्तन वार्तामा तीन देश (बंगलादेश, भुटान र नेपाल) बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वानसमेत गरे ।

‘हाम्रो दुई देशका वार्ता टोली लामो समयदेखि सहकार्य गर्दै आएका छन् । यहाँ बाकुमा पनि यसलाई निरन्तरता दिइएको छ । हाम्रा लागि जलवायु विपदसँग जुझ्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १.५ डिग्री सेलसियसमा सीमित गर्ने विषय महत्वपूर्ण छन्,’ उनले भने ।

बाकु सम्मेलनले यी महत्वपूर्ण विषयमा निर्णय गर्दै विशेष गरी जलवायु वित्तका सन्दर्भमा निष्कर्षमा पुग्ने मन्त्री शाहीले विश्वास व्यक्त गरे । कोप–२९ को भेटघाट महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल र बंगलादेशबीच द्वीपक्षीय सम्बन्ध तथा सहकार्य आगामी दिनमा झन प्रगाढ हुने उनको विश्वास छ ।

भेटमा बंगलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौताका लागि सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने आशा व्यक्त गरे । ‘यसले बंगलादेशलाई ऊर्जा क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ जलविद्युत् ऊर्जा प्रयोग गर्न मद्दत गर्नेछ । जलवायु परिवर्तन वार्ता र साझा प्राथमिकतामा सहकार्य जरुरी छ,’ उनले भने ।

नेपाल, भुटान र बंगलादेशबीच समन्वय आवश्यक छ । ‘हाम्रा साझा प्राथमिकतामा जलवायु वित्तको मुद्दा राख्नुपर्ने र तापक्रम १.५ भन्दा तल सीमित गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेछ,’ हसनले ।

दक्षिण एसियामा जलवायुजन्य हानी नोक्सानीसम्बन्धी वार्तालाई क्षेत्रीय स्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ । बंगलादेश, भुटान र नेपालबीच मन्त्री स्तरीय बैठक जति सक्दो चाँडो बंगलादेशमा आयोजना गर्ने सहमति भएको छ । बैठकको समय भने पछि तय गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्