• Menu

चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा २ प्रतिशत योगदान, पाँच वर्षमा ७६ अर्ब कर दाखिला

नेपाल प्रफिट

२०८१ मंसिर २, आइतबार १६:०२

चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा २ प्रतिशत योगदान, पाँच वर्षमा ७६ अर्ब कर दाखिला

काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा करिब २ प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो ।

चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको अनुमान जारी प्रेस विज्ञप्तिमार्फत गरिएको छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यावसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ ।

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आवमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा चौधरी ग्रुपले गत आवमा राजस्वमा पुर्‍याएको योगदान २ अर्ब ३८ करोडले बढी छ । आर्थिक वर्ष २०७९/८० मा यो समूहले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो ।

‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणका बीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ,’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ ।’

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

त्यस्तै, चौधरी ग्रुपले आर्थिक वर्ष २०७६/७७ मा १.४९, २०७७/७८ मा १.७३, २०७८/७९ मा १.८०, २०७९/८० मा १.८७ प्रतिशत कुल राजस्वमा योगदान दिएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमबाट नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए ।

‘हामीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएका छौं । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने विश्वास छ ।’

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।

करदाताको रुपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो दुविधा अन्त्य गर्न र आफूले राजस्वमा गरेको योगदानलाई आम जनमानसका बीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्