• Menu

वीरगन्जको सुख्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

नेपाल प्रफिट

२०८१ मंसिर २, आइतबार १४:४३

वीरगन्जको सुख्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

पर्सा । वीरगन्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७.५७ प्रतिशत राजस्व संकलन गरेको हो ।

सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको बताए ।

चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व संकलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड र कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व संलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व संकलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड ४ लाख ५६ हजारले राजस्व संकलनमा कमी आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्