काठमाडौं । कुनै बेला व्यक्तिगतर्फ सर्वाधिक कर तिर्ने उद्योगीका रुपमा विजयबहादुर शाह सम्मानित हुन्थे । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) को नेतृत्व तहमा रहँदा उनी तीन पटकसम्म सर्वाधिक कर तिर्ने व्यक्तिका रुपमा सरकारबाट सम्मानित भएका छन् ।
उत्कृष्ट करदाताका रुपमा शाह परिवारको सम्मानको सिलसिला अर्को पुस्तामा उसैगरी सरेको छ । जेजीआईका प्रबन्ध निर्देशक एवं उनकै छोरा राजबहादुर शाह आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा शनिबार सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा शाहलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको हो ।
जेजीआई मदिराजन्य पेय पदार्थ उत्पादन र वितरण गर्ने धेरै कम्पनीहरूको प्रबन्ध गर्ने व्यावसायिक समूह हो । यो कम्पनीले फरक शैली र उत्कृष्ण गुणस्तरमा आफ्ना उत्पादन उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । शाह सन् २००० देखि यो व्यवसायमा सामेल भएका हुन् ।
उद्योगी शाह नेपाल उद्योग परिसंघका नवनिर्वाचित उपाध्यक्ष हुन् । उनले उद्यमी संगठन (ईओ) नेपाल र युवा अध्यक्षहरूको संगठन (वाईपीओ) नेपालको पनि नेतृत्व गरिसकेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट विज्ञानमा स्नातकोत्तर गरेका छन् ।
शाह पुराना गाडीहरु भिन्टेज कारमा रुचि राख्ने शाह विज्ञानका कथा सुन्न र हेर्न मन पराउँछन् । जनावरलाई औधी माया गर्ने व्यक्तिका रुपमा उनको परिचय फराकिलो बनेको नजिकबाट चिन्नेहरु बताउँछन् । उनी टिकटकमा पनि उत्तिकै रमिरहेका हुन्छन् ।
संस्थागत सामाजिक उत्तरदायित्वमा पनि शाहले नेतृत्व गरेको जेजीआईले ठूलो योगदान गर्दै आएको छ । विश्वव्यापी कोभिड-१९ महामारी होस् या २०७२ सालको महाभूकम्प जेजीआईले ठूलो सहयोग पुर्याउँदै आएको छ ।
जेजीआईले गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउन्डेसन (जेजीआईएनएफ) सञ्चालनमा ल्याएको छ । शाह परिवारले संस्थागत सामाजिक उत्तरदायित्वका कतिपय कार्यक्रम जेजीआईएनएफमार्फत गर्ने गरेको छ भने कतिपय सहयोग निजी पुँजीबाटै गर्दै आएको छ ।
विजयबहादुर शाहले गएको असोजमा डा. भगवान कोइरालाको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई चार करोड रुपैयाँ सहयोग गरेका छन् । जेजीआईएनएफको समन्वयमा यो सहयोग शाहले निजी सम्पत्तिबाट गरेका थिए ।
शाह परिवारले सन् १९५० तिरबाटै परम्परागत तरिकाले स्थानीय मदिरा उत्पादन गरी बिक्री गर्दै आएको थियो । अमेरिकाबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेर फर्किएपछि विजयबहादुर शाहले मदिरा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गर्ने सोच बनाए ।
उनी सन् १९६९ मा फर्किए भने ७० मै जावलाखेल डिस्टिलरी सुरु गरे । बुवा रामनारायण शाहले ३० लाख रुपैयाँ जुटाइदिएपछि २० जना कामदारबाट सुरु गरेको जावलाखेल डिस्टिलरी आज अर्बौं मूल्यको भएको छ ।
नेपाली निजी लगानीमा सुरु भएको नेपालको पहिलो मदिरा उद्योग हो जावलाखेल डिस्टिलरी । सुरुवाती चरणमा यो कम्पनीले ह्विस्की र रम उत्पादन गर्थ्यो । सन् १९७३ देखि भोड्का उत्पादन सुरु गर्यो । अहिले रुस्लान भोड्का मदिरा पारखीको रोजाइमा छ ।
उद्यम व्यवसायमा एकछत्र जस्तै देखिएका विजयबहादुर अहिले मदिरा क्षेत्रमा कसरी थप राम्रो गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धानमा लागेका छन् भने छोरा राजबहादुरले अब्बल व्यावसायिक दक्षता प्रदर्शन गरिरहेका छन् ।
साढे पाँच दशकको अवधिमा जावलाखेल डिस्टिलरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका रुपमा बलियोसँग स्थापित भइसकेको छ । हिमालयन डिस्टिलरी, एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरीलगायतका कम्पनी जेजीआईको छानामुनि छन् ।
यी कम्पनीहरुले रुस्लान भोड्का, रोयल स्ट्याग ह्विस्की, ब्लु डाइमन्ड जिन, गोल्डेन ओक ह्विस्कीलगायत १८ किसिमका मदिरा उत्पादन गरिरहेका छन् । हिमालयन डिस्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत पनि छ ।