• Menu

माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्दै हरिराम

नेपाल प्रफिट

२०८१ मंसिर २, आइतबार ११:५९

माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्दै हरिराम

कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो ।

२०६५ सालमा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाले । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे । ‘सुरुआतमा बुबाले धानखेती हुँदै एक-दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो,’ हरिरामले भने ।

२०७२ सालमा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो । बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाएका थिए ।

उनको बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भए । माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्ने गरेको हरिराम सुनाउछन् ।

‘धान, गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आन्दानी छ,’ उनले भने, ‘माछाको संख्या अनुसार आम्दानी हुन्छ । मैले वार्षिक ३० लाख लाखसम्म आम्दानी गर्ने गरेको छु ।’

एक माछा एक किलोग्राम तौलको हुनका लागि एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ । दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात–आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताउँछन् ।

माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ । हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन् ।

नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए ।

हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ । उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छिन् । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौँमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् ।

‘शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालनबाट पनि राम्रै भएको छ,’ हरिरामले भने, ‘सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्