काठमाडौं । वाणिज्य बैंकहरुको औसत ब्याजदर फेरि घटेको छ । मंसिरका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर कात्तिकमा भन्दा औसतमा घटेको हो ।
कात्तिकमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा ५.९६ प्रतिशतमा झरेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकमा भन्दा मंसिरमा ०.२२ प्रतिशत विन्दुले घटेको हो ।
मंसिरका लागि २० मध्ये ११ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ८ वटाले स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ ।
कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै नेपाल एसबीआई, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन, एभरेस्ट र नेपाल बैंकले स्थिर राखेका छन् ।
मंसिरका लागि व्यक्तिगत मुद्दतीमा एनआईसी एसिया बैंकले अधिकतम ६.७९ प्रतिशत ब्याज दिनेछ भने सबैभन्दा कम लक्ष्मी सनराइज ५.५ प्रतिशत ब्याज दिनेछ ।
निक्षेपको ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याज पनि घट्छ । लामो समयदेखि ब्याज घटे पनि अर्थतन्त्रमा छाएको सुस्तताका कारण कर्जाको माग बढ्न सकेको छैन ।
समष्टिगत मागमा आएका कमीका कारण उद्योगी व्यवसायीले कर्जाको माग बढाउन नसकेका हुन् । फलत: बैंकहरु लगातार निक्षेप र कर्जाको ब्याज घटाउन बाध्य छन् ।