काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । साताको पहिलो दुई दिन उच्च अंकले बढेको बजार मंगलबार र बुधबार घटेको हो ।
मंगलबार ११.२४ अंकले घटेको नेप्से आज १४.१२ अंकले घटेर २७३४.८३ अंकमा झरेको छ । आज विकास बैंक, वित्त, जलविद्युत र म्युचुअल फन्ड समूहमा हरियाली छाए पनि बाँकी सबै समूह राताम्य भएपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।
वित्त समूह सबैभन्दा धेरै ४.२ प्रतिशतले बढेको छ । यो समूहका १५ कम्पनीमध्ये १४ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
बजार घट्दा पनि ९९ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १३८ वटाको घटेको छ ।
कारोबार रकममा उत्साह कायमै छ । मंगलबार ७ अर्ब ७६ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज पनि ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।