• Menu

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

नेपाल प्रफिट

२०८१ कात्तिक २८, बुधबार १५:५६

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

काठमाडौँ । बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन । ‘भैरहवा र सुर्खेत विमानस्थल बन्द छन्, अन्य विमानस्थलबाट नियमित उडान भइरहेका छन्,’ उनले भने ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।

ती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले सुक्खा मौसम र प्रदूषणले लामो समय वर्षा नहुँदा तथा तराई क्षेत्रमा बाक्लो तुवाँलो लागेकाले हवाई यातायात प्रभावित भएको बताइन् ।

‘तराईको भू-भागमा वर्षा भए पनि नभए पनि अबको केही दिनपछि बिहान हुस्सु, कुइरो लाग्ने क्रम बढ्ने र उडान प्रभावित हुनेछ,’ उनले भनिन्, ‘नोभेम्बरको तेस्रो सातादेखि बाक्लो हुस्सु कुइरो बढ्नेछ । डिसेम्बर, जनवरी र फेब्रुअरीमा बढी हुस्सु र कुहिलो लाग्ने भएकाले महाशाखाले विशेष ‘मोनिटरिङ’ नै गर्छ ।’

तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्