कम्पनीले कम्तीमा पनि त्रैमासिक रुपमा लाभांश बाँड्नुपर्छ भन्ने मेरो धारणामा धेरै जनाबाट ‘एक वर्षमा त दिन नसक्ने कम्पनीले हरेक त्रैमासिकमा कसरी लाभांश दिन सक्छ ?’ भन्ने प्रतिक्रिया आयो ।
लाभांश दिने भनेको नाफा कमाउने कम्पनीले नै हो । नकमाउनेले दिँदैन । चाहे वर्षमा होस् वा त्रैमासमा । जुन कम्पनीले नाफा कमाउँछ, उसले वर्षदिनमा दिन सक्ने लाभांशलाई बाँडेर चारवटा त्रैमासमा दिन सक्छ ।
जस्तो कि कुनै कम्पनीले वर्षदिनमा १२ प्रतिशत (१२ रुपैयाँ नगद) लाभांश दिन सक्ने क्षमता राख्छ भने त्यसैलाई बाँडेर प्रत्येक त्रैमासमा (चारवटा) मा ३ प्रतिशत वा ३ रुपैयाँ प्रतिसेयर लाभांश बाँडन सक्छ ।
अनि कति जनाको प्रश्न यतिले के हुन्छ ? भन्ने पनि आयो । शून्य प्रतिशतभन्दा एक प्रतिशत धेरै राम्रो । एकभन्दा दुई । केही नदिनुभन्दा केही दिनु अति राम्रो । ढिलो दिनुभन्दा चाँढो दिनु राम्रो ।
यसैले पैसा पाउने कुरामा के भनिन्छ भने आजको एक रुपैयाँको मूल्य भविष्यमा कुनै पनि समयमा पाउने एक रुपैयाँको मूल्यभन्दा बढी हुन्छ किनकि आजको एक रुपैयाँलाई लगानी गर्दा त्यसले केही न केही कमाएको हुन्छ । बैंकमा राखे पनि केही ब्याज पाइसकेको हुन्छ ।
यसकारण पनि एक वर्षपछि पाउने लाभांशभन्दा प्रत्येक त्रैमासमा पाउने थोरै भए पनि त्यसको मूल्य बढी हुन्छ । चाहे नगद होस् वा बोनस सेयर ।
अर्को प्रश्न थियो- हरेक महिनामा गरे अझ राम्रो । अन्तर्राष्ट्रिय बजारमा कतिपय कम्पनीले प्रत्येक महिना लाभांश बाँड्छन् । यो अनौठो कुरा होइन । नियामकबाट स्वीकृति लिनुपरे पनि कहिले लाभांश बाँड्ने भन्ने कम्पनीको आफ्नो निर्णयको कुरा हुनुपर्छ ।
(रवीन्द्र भट्टराईको फेसबुकबाट)