• Menu

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको हृदयाघातका कारण मृत्यु

नेपाल प्रफिट

२०८१ कात्तिक ८, बिहीबार १४:०४

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको हृदयाघातका कारण मृत्यु

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणकुमार रावलको निधन भएको छ । बुधबार मध्यरातमा स्वास्थ्य समस्या भएपछि भक्तपुरको नागरिक अस्पताल भर्ना भएका रावलको राति नै निधन भएको हो ।

नेपाल बिमा प्राधिकरण र नेपाल बिमक संघको संयुक्त आयोजनामा काठमाडौंको सोल्टी होटलमा भइरहेको अन्तर्राष्ट्रिय समावेशी बिमासम्बन्धी सम्मेलनमा सहभागी भएर रावल राति पौने ११ बजे लोकन्थलीस्थित निवास फर्किएका थिए । राति १ बजे अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई नागरिक अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा राति नै निधन भएको हो ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् । अस्ट्रेलियामा रहेका छोरा बिहीबार राति नेपाल आइपुग्ने र शुक्रबार उनको अन्त्येष्टि हुने आफन्तजनले बताएका छन् ।

बिमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको उनले नेको इन्स्योरेन्स र तत्कालीन सगरमाथा इन्स्यारेन्सको उच्च व्यवस्थापनमा काम गरेका थिए । उनी प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका बेला आईएमई जनरलसँग मर्जर भएको थियो । त्यसपछि उनी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत बने ।

हाल उनी युनाइटेड र अजोड इन्स्यारेन्स मर्जर भएर बनेको युनाइटेड अजोडको सीईओ थिए ।

प्रतिक्रिया दिनुहोस्