काठमाडौं । विद्युतीय सवारी साधनप्रति प्रयोगकर्ताको आकर्षण उच्च देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामै ६ अर्ब ११ करोड मूल्यबराबरका २५ सय १८ सवारी साधन आयात भएका हुन् ।
गत आवको सोही अवधिमा ५ अर्ब १७ करोड मूल्यबराबरका २१ सय ३५ सवारी साधन आयात भएका थिए । विद्युतीय सवारी साधन आयातबाट गत वर्षको पहिलो तीन महिनामा २ अर्ब २४ करोड राजस्व संकलन गरेको सरकारले चालु आवको तीन महिनामा ३ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ ।
यो अवधिमा ५० किलोवाटसम्मका ७७२ वटा, ५१ देखि १०० किलोवाटसम्मका १५ सय ८२ वटा, १०१ देखि २०० किलोवाटसम्मका १५९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ३ वटा र ३०० किलोवाटभन्दा माथिका २ वटा सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ ।