• Menu

चीनमा ९ महिनामै ८३ लाख विद्युतीय सवारी साधन बिक्री, गत वर्षको तुलनामा ३२ प्रतिशतको वृद्धि

नेपाल प्रफिट

२०८१ कात्तिक १, बिहीबार १५:१७

चीनमा ९ महिनामै ८३ लाख विद्युतीय सवारी साधन बिक्री, गत वर्षको तुलनामा ३२ प्रतिशतको वृद्धि

एजेन्सी । चीनमा विद्युतीय सवारी साधनको उत्पादन र प्रयोग उच्च दरमा बढेको छ । सन् २०२४ को पहिलो ९ महिनामा चीनमा ८३ लाखभन्दा बढी विद्युतीय सवारी साधन बिक्री भएका छन् ।

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्यांकअनुसार जनवरीदेखि सेप्टेम्बरसम्ममा ८३ लाख १६ हजार युनिट विद्युतीय सवारी साधन उत्पादन भएका छन् भने ८३ लाख २० हजार युनिट बिक्री भएका छन् । विद्युतीय सवारी साधन उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ३१.७ प्रतिशत र बिक्री ३२.५ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा चीनको अटोमोबाइल उद्योगकै वृद्धि उत्साहजनक देखिएको छ । जनवरीदेखि सेप्टेम्बरसम्ममा सवारी साधनको उत्पादन र बिक्रीमा निरन्तर वृद्धि देखिएको हो ।

जनवरीदेखि सेप्टेम्बरसम्ममा चीनमा सवारी साधन उत्पादन संख्या सन् २०२३ को सोही अवधिको तुलनामा १.९ प्रतिशतले बढेर २ करोड १४ लाख ७० हजार युनिट पुगेको छ ।

त्यस्तै सवारी साधन बिक्री गत वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशतले बढेर २ करोड १५ लाख ७० हजार युनिट पुगेको तथ्यांकमा उल्लेख छ । सेप्टेम्बरमा मात्रै २८ लाख सवारी साधन उत्पादन भएका छन् भने २८ लाख १० हजार युनिट बिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्