काठमाडौं । टाटाको पन्च ईभी एकैपटक चार सहरमा लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी एकैपटक चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च गरिएको नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।
पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापति र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको उपस्थिति थियो ।
यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने सहभागी थिए । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ श्रेष्ठले नाडा अटो सोमा सार्वजनिक भएको टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए ।
पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ छ । उनले गाडीको बिक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए ।
भैरहवा-बुटवलको कार्यक्रममा सीओओ गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए । कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको छ ।
गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च ईभी चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताए । टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् ।
यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमी छ भने यसले बीएनसीएपीमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।